क्यालेन्डरमा नभई मैदानमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना


काठमाडौं । नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?, फुटबल क्यालेण्डरमा होइन, मैदानमा चाहियो, घरेलु लिग चलाउ, फुटबल बचाउँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
एन्फाले प्रभावकारी काम गर्न नसकेकाले नेपाली फुटबल चलायमान हुन नसकेकाले झकझकाउन प्रदर्शन गरिएको फुटबल समर्थक अनुप मल्लले बताए । फिफा र नेपाल सरकारबाट प्राप्त हुने बजेट समेत पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
ए डिभिजन लिग आयोजना गर्न नसकेको ८५४ दिन हुँदा पनि एन्फा गम्भीर नभएको उनीहरुको आरोप छ । यसैबीच एन्फा र ए डिभिजन फुटबल क्लबबीच आइतबार हुने भनिएको बैठक समेत स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएको एन्फाले जनाएको छ ।