आज नेपाल र इरानका महिला फुटबल टोली भिड्दै
काठमाडौं । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ बजे सुरु हुनेछ।सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो । पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ ।
नेपाली टोलिमा कप्तान भण्डारी साम्बासहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् । त्यस्तै नेपाली टिममा प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू सबै हिसावले तयार भएको बताएकी छन् । खेलका लागि नेपाली टोली भारत पुगिसकेको छ ।
