डेम्बेलेले जिते बेलन डे’ अर


काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलन डे’अर जितेका छन् । उनको महत्वपूर्ण योगदानको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।
पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो पहिलो पटक हो । महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् । डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन् । पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो ।
यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो । बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन् । अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे ।