`

फुटबलको महाभिडन्त आज : रियल म्याड्रिड र बार्सिलोना भिड्दै

Nepal One HD १० कार्तिक २०८२ १४:०१
खेलकुद

काठमाडौं । विश्व फुटबलकै सबैभन्दा ठूलो ‘राइभलरी’ मानिने ‘एल क्लासिको’ मा आज राति दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने यो खेल नेपाली समयअनुसार राति ९ः०० बजे सुरु हुनेछ ।
स्पेनिस ‘ला लिगा’ को शीर्ष स्थानमा रहेका दुई टोलीबीचको यो भिडन्तले उपाधि होडमा समेत महत्वपूर्ण प्रभाव पार्नेछ ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिड ९ खेलबाट २४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने २ अंकले पछि रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ । आजको जितले रियललाई बार्सिलोनामाथि ५ अंकको स्पष्ट अग्रता दिलाउने छ।

लयमा रियल, चोटमा बार्सिलोना

रियल म्याड्रिड यस सिजन उत्कृष्ट लयमा देखिएको छ । लिगमा खेलेका ९ मध्ये ८ खेल जितेको रियलका लागि स्टार फरवार्ड केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १० गोलसहित उनी हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन् । उनले गत सिजन बार्सिलोनाविरुद्ध ४ खेलमा ५ गोल गरेका थिए । यता, बार्सिलोना भने प्रमुख खेलाडीहरूको चोटका कारण समस्यामा छ । स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, राफिन्हा र गाभी जस्ता महत्वपूर्ण खेलाडीहरू घाइते छन् ।

यस्तै प्रशिक्षक हान्सी फ्लिक पनि रातो कार्डका कारण खेलमा अनुपस्थित रहने छन् । यद्यपि, च्याम्पियन्स लिगको पछिल्लो खेलमा ओलम्पियाकोसमाथि ६–१ को सानदार जित निकालेको बार्सिलोना उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । गत सिजन बार्सिलोनाले रियल म्याड्रिडमाथि दबदबा कायम राखेको थियो । लिगका दुवै खेल र अन्य कप प्रतियोगितामा गरी बार्सिलोनाले रियललाई चार पटक पराजित गरेको थियो । तर, यसपटक बलियो लयमा रहेको रियल घरेलु मैदानमा उक्त हारको बदला लिने दाउमा हुनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *