अमेरिकासँग भारतको सम्बन्ध सकारात्मक छ : मोदी


नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि ‘निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन् ।
नयाँदिल्लीले रुसी तेल किनेर युक्रेनमाथि मस्कोले गरेको घातक आक्रमणलाई बढावा दिएको आरोप लगाउँदै वासिङ्टनले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि उत्पन्न तनावका बीच यो आदानप्रदान भएको हो ।
राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालदेखि नै बलियो सम्बन्ध रहँदै आएको छ । ‘राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्याङ्कन गरियोस्’, मोदीले एक्समा लेखेका छन्, ‘भारत र संयुक्त राज्य अमेरिकाबीच ‘धेरै सकारात्मक र व्यापक अग्रगामी र विश्वव्यापी रणनीतिक साझेदारी’ रहेको छ ।’
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफू सधैं मोदीको मित्र रहने बताएका थिए । ‘भारत र संयुक्त राज्य अमेरिकाबीच विशेष सम्बन्ध छ । चिन्ता गर्नुपर्ने कुनै कारण छैन’, ट्रम्पले भने । ट्रम्पले भारतलाई चीनसँग हारेको’ भन्ने आफ्नो पहिलेको टिप्पणीलाई बेवास्ता गर्दै भारतसँगको विशेष सम्बन्धलाई औल्याएका हुन् ।
गत साता मोदीले साङ्घाई कोअपरेसन अर्गनाइजेसनको एक भेलामा भाग लिन चीन भ्रमण गरेका थिए, यो उनको सात वर्षपछि पहिलो पटक चीन भ्रमण हो । गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच दशकौंँ यताकै सबैभन्दा खराब द्वन्द्वपछि शान्ति स्थापनाका लागि नोबेल पुरस्कारका लागि योग्य कूटनीतिको श्रेय लिने क्रममा ट्रम्प नयाँ दिल्लीप्रति चिढिएका थिए । काश्मिरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सानिध्यता देखाएको देखिएको थिएन । –रासस /एएफपी