कांग्रेसले बोलायो कार्य सम्पादन समितिको आकस्मिक बैठक


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साँझ ५ बजे बस्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय हुनेछ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए ।
परिस्थितिको आंकलन गर्न नसक्नु गम्भीर गल्ती : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आंकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् । शर्माले जेनजीको आवेग बुझ्नु सरकारको प्राथमिक दायित्व भए पनि परिस्थितिको आंकलन गर्न नसकेको बताए ।
‘जेनजीहरूमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व हो,’ उनी भन्छन्, ‘जुनसुकै आमाले जन्माएको भए पनि सबै जेन–जी हाम्रा छोराछोरी हुन् ।’ मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको उनले बताए । ‘अब सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नु पर्छ,’ शर्मा भन्छन्, ‘सरकारले आफ्नो विश्वास थोपरेर मात्र हुँदैन, नागरिकको विश्वास पनि लिनुपर्छ ।’