ललितपुरको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो


ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेका हुन् । ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गए पनि प्रदर्शनकारीले फर्काएका छन् । ‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ । तर प्रहरी पुग्न सकेको छैन । दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने । ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएप नि जान नसकिएको बताएको छ ।
फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो । ‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्यौं । प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने । काठमाडौं सहित देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । तर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
उनीहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए ।
त्यस्तै, प्रदर्शनकारीहरू नेताहरूको घरमा समेत आगजनी तथा तोडफोड गरेका हुन् । आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन् । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारीको ठूलो भिड भेला भई प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक समेत तोडफोड गरेका छन् । इटहरीमा पनि कफ्र्यु तोड्दै प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । हिजो त्यहाँ भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि इटहरी अहिले पनि तनावग्रस्त बनेको छ । विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाइएको छ ।