जेनजीलाई बालेनले भने- सेनासँग वार्ता गर्न तयार रहनू


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् ।
जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार फेसबुकमार्फत स्टाटस लेख्दै आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् ।साथै जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।
‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो’, बालेनले भनेका छन्,‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ’
उनले देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति भएको भन्दै तपाईँ-हामी अब संयमित हुनु जरुरी रहेको बताएका छन् ।
‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् – वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ’,बालेनले भनेका छन् ।