कास्की, तुलसीपुर र कैलाली कारागारबाट निस्के एक हजार बढी कैदीबन्दी


कास्की । जेनजीको प्रदर्शनपछि कास्की, दाङ कैलाली कारागारका एक हजार बढी कैदीबन्दी बाहिर निस्केका छन् । जेनजी प्रदर्शनकारीको प्रदर्शनपछि कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो । त्यसपछि जेन–जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।
कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन–जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन् । बेलुकी पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् ।
कारागारभित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरे पनि उनीहरू निस्किएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए । एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागे पनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।
यस्तै कैलालीमा प्रदर्शनकारीले जिल्ला कारागार कब्जा गरेका छन् । यही मौकामा कैदी–बन्दी बाहिर निस्किएका छन् । कैलालीमा स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि कफ्र्यु जारी गरे पनि त्यो निष्प्रभावी देखिएको छ । मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका आक्रोशित युवाले दर्जनभन्दा बढी कार्यालयमा क्षति पुर्याइसकेका छन् । उनीहरूले प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे। प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी जलाए ।
धनगढीमा पार्किङ गरेर राखिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर आगजनी गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका एउटा गाडी जलाएको स्थानीय प्रशासनले जनाएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाइएको छ । कञ्चनपुरमा पनि जेन–जी आन्दोलन उग्र बनेको छ । प्रदर्शनकारीले जनप्रतिनिधि र नेताका घरमा तोडफोड र आगजनी गरिरहेका छन् । तर सुरक्षाकर्मीले रोक्न सकेका छैनन् ।
सोमबार राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको दुई घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सांसद प्रकाश रावल, मधु भारती, भीमदत्तका प्रमुख र उपप्रमुख लगायतको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । बिहानैदेखि महेन्द्रनगरमा टायर बालेर विरोधमा उत्रिएका युवाले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । यस अविधमा आन्दोलनकारीले अख्तियार कार्यालयमा तोडफोड, नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।