`

तनहुँ कारागारका १४० कैदीबन्दी अझै फरार

तनहुँ । तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालयले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएका छन् । कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने बाँकी फरार रहेका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।

फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।’ साथै फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

कारागार प्रशासनले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने उल्लेख गरेको छ । फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु तथा कारागार कार्यालयका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसका लागि कारागारले सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६००११११, जिल्ला प्रहरी कार्यालयलाई ९८५६०९०२९८, ९८५६०९०१७८ वा ०६५–५६३१९९, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुलाई ९८५१२७२०९९, सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीलाई ९८५६०६५७४० र कारागार प्रशासकलाई ९८५६०८४७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

महोत्तरी । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ ।

कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई असोज २० गतेसम्म फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए । साथै तोकिएको अवधिभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ । गत भदौ २४ गते कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना फरार भएकामा आज बिहानसम्म यस कारागारमा २६२ जना फिर्ता आइसकेको क्षेत्रीले बताए ।

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए । ‘गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्’, उनले भने । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण संकलन भइरहेकाले खोजी कार्य जारी रहेको उनले बताए ।

जेनजी आन्दोलनमा फरार ६,४९४ कैदीबन्दी कहाँ गए ?

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागार फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो ।

भागेकामध्ये अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधार गृहबाट भागेका ६२२ जना छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । देशभरका कारागारमा कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना मात्रै रहेका छन् । रासस

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । ५० वर्षीय शर्मा भारतीय प्रहरीको सहयोगमा २०८० असार दोस्रो साता मुम्बईबाट पक्राउ परेका थिए ।

उपत्यकाका तीन वटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो । उनीमाथि १४ अर्ब रूपैयाँभन्दा बढी बचत हिनामिनाको आरोप छ ।

उनले २०७७ मा भक्तपुरमा सञ्चालित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका हुन् । मोरङमा सञ्चालित तुलसी सहकारी संस्था पनि उनले नै खोलेका हुन्। आर्थिक अपचलनका कारण सबै सहकारी डुबेपछि उनी भागेर भारत गएका थिए ।

नक्खु कारागारबाट फरार भुटानी शरणार्थी प्रकरणका मुख्य दुई अभियुक्त पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका पारेर लतिपुरको नक्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका दुई अभियुक्त पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार केशव दुलाल र सानु भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता–कार्यकर्तासहितको टोलीले नक्खु कारागारबाट पार्टी अध्यक्ष सहकारी ठगीका अभियुक्त रवि लामिछानेलाई निकाल्न आगजनी तथा तोडफोड गरेपछि अरु ७ सय बढी कैदीबन्दी पनि भागेका थिए ।

चौतर्फी विरोधपछि लामिछाने कारागार फर्किए पनि अन्य कैदीबन्दी भने भागिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र सरकारका पूर्वसचिव टेकनारायण पाण्डे सुन्धारा कारागारमा थिए ।

उनीहरू पनि भदौ २४ गते राति भागेका थिए । रायमाझी सोमबार बेलुका जेल फर्किसकेका भए पनि पाण्डे अझै बाहिरै छन् । उनले यसअघि आफै फर्किन्छु भने पनि अहिले सम्पर्कमा नरहेको कारागार प्रशासनले जनाएको छ । १४ हजार ५५५ जना कैदलीबन्दी फरार रहेकोमा अझै आधाजति बाहिरै छन् । अवस्था सामान्य बन्दा पनि नफर्किएपछि प्रहरीले खोजतलास गरेर पक्राउ गर्न थालेको छ ।

नख्खु र झुम्का कारागारबाट भागेका कैदी पक्राउ

संखुवासभा । जेनजी प्रदर्शनको मौकामा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन् ।

त्यस्तै सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि पक्राउ गरिएको छ ।

तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए । जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।

भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफै फर्किए

बागमती । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफै मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् ।

भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफै कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १९८ र अन्य कारागारबाट फरार ६२ जना गरी २५९ जना कैदीबन्दी कारागार फर्किएको कारागार प्रमुख पौडेलले बताए ।

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका २४२ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

मनीषा तीन दिनदेखि बेपत्ता थिइन् । घर नजिकै बारीमा पुरेको अवस्थामा मनीषाको शव फेला परेको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले बताए । ‘मनिषा तीन दिनदेखि हराइरहेकी थिइन् । घर नजिकै पुरेको अवस्थामा शव फेला परेको छ । बाहिर चप्पल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, वडाध्यक्ष केसीले भने । सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछि थप जानकारी हुने प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा देशभरका २७ बढी कारागारबाट हजारौंको संख्यामा कैदीबन्दी भागेका छन् । भागेकामध्ये थोरैलाई मात्र पुनः नियन्त्रणमा लिन सकिएको छ । ठूलो संख्यामा कैदीबन्दी भागेका कारण समाजमा डर–त्रासको वातावरण छाएको छ ।

जेनजी आन्दोलनमा भागेका कर्णालीका ५५ कैदी र ३३ थुनुवा पक्राउ

सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मौकामा कर्णाली प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ३३ जना थुनुवा फरार भएका थिए । प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए । फरार भएका मध्ये १६ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन् ।

जुम्लाबाट फरार रहेका १३ कैदी र १ थुनुवा पक्राउ पर्न बाँकी छन् । यस्तै, रुकुमपश्चिम जिल्ला कारागारबाट फरार भएका ५५ जना कैदी मध्ये ३९ जना पक्राउ परेका छन् भने १६ जना कैदीबन्दी अझै फरार छन् । साथै रुकुमपश्चिम जिल्ला कारागारबाट भागेका ३३ थुनुवा मध्ये २२ जना पकाउ गरेका छन् भने ११ थुनुवा अझै फरार रहेका प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका केही कैदीबन्दी तथा थुनुवाहरु आफै फर्किएको केहीलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न ठाउँबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले ज्यानसम्बन्धी मुद्दाका दुई अभियुक्तलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका– ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका– ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव छन् ।
मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै यादवले गएको साउन ३० गते हरिपूर्वा–६ निवासी ५० वर्षीय रामपुकार यादवलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। हत्यापछि भारततर्फ भागेका उनी नेपाल आउँदै गर्दा सर्लाहीकै पर्सा गाउँपालिका–३ नारायणपुरबाट पक्राउ परेका हुन् ।

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन्। सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए ।

कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् । रासस

सुन तस्करीका नाइके गोरे कारागार फर्किने, टोपबहादुर रायमाझी छैनन् सम्पर्कमा

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ३८ क्विन्टल सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किने भएका छन् । गोरे ३८ क्विन्टल सुन तस्करीमा मुख्य नाइके व्यक्ति हुन् । उनी जेनजीको प्रदर्शनका क्रममा मंगलबार कारागारबाट भागेका थिए । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किने भएका हुन् ।

गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले बताएको छ । ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गर्नु भएको छ । कारागार फर्किने जानकारी गराउनु भएको छ’ कारागार स्रोतले भन्यो । जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो । प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।
प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो ।

न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किन लागेका हुन् । उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् । कारागार प्रशासनले कारागार नफर्किए कैदीबन्दीलाई कानून अनुसार, सशक्त कारबाही गर्ने चेतावनी दिएको छ ।

३५ कारागारका १३ हजार कैदी फरार, कुनबाट कति भागे ? (सूचीसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट १३ हजार ११४ कैदी बन्दी फरार भएका छन् । फरारमध्ये १,२९८ जना नियन्त्रण र सम्पर्कमा आएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सबै प्रदेशबाट संकलन गरेको विवरण अनुसार अझै ११ हजार ८६८ कैदीबन्दी फरार छन् । जेलबाट भाग्ने क्रममा नौं जनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् ।

कैदी बन्दी फरार भएका कारागार र बाल सुधार गृहमा रहेका १६ हजार ७९७ जनामध्ये अहिले ४ हजार ८९५ मात्र कैदमा छन् । ३५ जिल्लाका कारागार र बाल सुधार गृहबाट कैदी बन्दी फरार भएका छन् । ती जिल्लाका इन्सेक प्रतिनिधिले पठाएको रिपोर्टका आधारमा तयार पारिएको विस्तृत विवरण इन्सेकले शुक्रवार सार्वजनिक गरेको छ ।

कानुनी शासनको जगमा निकास निकाल्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ ।

‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ’मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपति समक्ष आयोगले राखेको छ ।’

आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास गरेको छ । वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

हेर्नुस् विज्ञप्ती

डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दी फेरि पक्राउ

डडेलधुरा । डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दी फेरि पक्राउ परेका छ । बुधबार कारागार तोडफोड गरेर भागेका ८५ कैदीबन्दीमध्ये ६१ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएर कारागारमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार अहिले कारागारमा १ सय ३ कैदीबन्दी छन् ।

यस्तै अन्य जिल्ला कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर डडेलधुरा प्रहरीले सम्बन्धित जिल्लामा पठाइरहेको छ । डोटीको बाल सुधार गृहबाट फरार भएका २ जनालाई पक्राउ गरेर जिप्रका कैलालीको बाल निगरानी कक्षमा राखिएको छ । कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई पनि पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाले ती कैदीलाई पक्राउ गरेर कञ्चनपुर प्रहरीलाई बुझाने काम गरिरहेको जनाएको छ ।

 

बाँके कारागारमा कैदीबन्दीले लगाए आगो

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारका कैदीबन्दीले बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोड गरेका छन् । जसले कारागारमा तनावग्रस्त भएको छ ।

कैदीले कारागारको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नेपाल प्रेसलाई बताए । ‘कारागारको भित्री गेटमा आगो लगाइएको छ । हामी कैदीलाई नियन्त्रणमा लिने प्रयासमा छौँ’, उनले भने ।

कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ । हिजो मात्रै यहाँको नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।

 

नख्खु कारागारबाट फरार पूर्व राज्यमन्त्री टक्ला पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार सञ्जय साह टक्ला समातिएका छन् । फरार भएका टक्ला काभ्रेबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको मौका छोपेर नख्खु कारागारबाट उनी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।

उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्व राज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

 

देशभरबाट भागेका १२ हजार ८५२ कैदीबन्दी अझै बाहिरै

काठमाडौं । जेनजी आन्दोलनको मौका पारेर देशका विभिन्न कारागारबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १,४५५ लाई पुनः पक्राउ गरी फर्काइएको छ।

अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् । घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ । अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् । घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेद जस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’

प्रहरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो ।

देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १२५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो ।

विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको संख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।

नेपालगञ्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो। कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

विभिन्न कारागारबाट भागेका ३५ कैदीबन्दी धादिङबाट पक्राउ

धादिङ । देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । बुधबार तीन जनालाई धादिङकै गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।

आज नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नक्खु कारागारका नौ, भीमफेदी कारागारका चार, भद्र केन्द्रीय कारागारबाट भगेकामध्ये एक जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिए । पृथ्वी राजमार्गका विभिन्न स्थानमा नेपाली सेनाले बुधबारदेखि जाँच गरिरहेको छ । जाँचका क्रममा सोधीखोजी गरेर कैदीबन्दीको पहिचान गर्ने गरिएको कर्णेल श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाले साना तथा ठूला जुनसुकै सवारीसाधन प्रयोग गर्ने र पैदल हिँडेर आउजाउ गर्नेहरुलाई समेत जाँच गरिरहेको छ । केहीलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।

बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाए पनि आज नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरबनाथ गणमा नै राखिरहेको र उनीहरुको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिए । परिस्थितिजन्य अवस्थाले कारागारबाट भागेका कैदीबन्दीलाई स्वतस्फूर्त आत्मसमर्पण गर्न पनि नेपाली सेनाले आग्रह गरेको छ ।

रविको प्रष्टिकरण : मलाई कारागारले जबरजस्ती निकालेको हो, चाहेर निस्केको होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टिकरण दिएका छन्। आफूलाई ‘कस्टडी’ मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको उनको दावी छ ।

लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ती बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’ उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए ।

लामिछानेले भने, ‘तपाईंहरुले मलाई आफ्नो कस्टडीमा राख्नुस् या कारागारमा पठाउनुस् भनेर उहाँहरुलाई भनें । उहाँहरुले आफै सुरक्षित बस्नुस्, परेको बेला आफैं सम्पर्क गर्छौं भन्नु भयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो ।’

आजै न्यायिक निकायहरुलाई पनि औपचारिक जानकारी गराएको उनले बताएका छन् । आफू सरकार बनाउने र सरकारकोदौडमा नरहेको उनले प्रष्ट पारेका छन् । ‘मेरो नाममा विवाद गर्नु जरुरी छैन । मलाई डिफेम गर्न पर्दैन । म यो रेसमा नै छैन । झुटो मुद्दा अझै खेपिरहेको छु । प्रहरीले आफैं सुरक्षित बस भन्छ । बाटोमा जा भन्छ । बाटोमा आगो लिएर बसेको भिड छ । अब भन्नुस मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेस–एमालेदेखि जेनजीसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त ?’ उनले प्रश्न गरे ।

उनले भनेका छन्–
म आज सिधाकुरा आफ्नो शैली प्रस्तुत गर्न आएको छु–
१. कारागारबाट म निस्किन चाहेको हैन भिड बढेपछि कारागारले मलाई जबर्जस्ती मलाई बाहिर निकालेको हो । मैले बिनापत्र जान्न भनेको हुँ । उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसकेको छु ।

२. आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई आईजीहरूलाई मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुस् या कारागारमा पठाउनुस्–उहाँहरूले स्पष्ट भन्नुभयो–तपाईं आफै सुरक्षित बस्नुस् सुरक्षा दिन नसकेरै कारागारले पत्र दिएको होला ।

३. सुरक्षा निकायबाट यस्तो जवाफ आएपछि मैले आजै न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु ।

४. म सरकार बनाउने सरकारमा जाने कुनै पनि दौडमा छैन । कसैसँग कतै कुनै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन। म कुनै रेसमा छैन भनेर धेरै पटक भनिसकें । रेसमा नआओस् भनेर डिफेम गर्न जरुरी छैन । तर यो देश रहनु पर्छ लोकतन्त्र रहनु पर्छ र नागरिक सर्वोच्चता रहनु पर्छ । यो कुरामा म कसैसँग नडराइ बाँचुन्जेल राख्नेछु ।

५. यो आन्दोलन जेनजीको हो । नेतृत्व जेनजीले नै तय गरोस् । म आफ्नो मुद्दा कानुनी माध्यमबाट लडिरहेको छु लडिरहनेछु । ओली–देउवाको कूशासनको सबैभन्दा शिकार भएको म तिनले लगाएको झुटो मुद्दा अझै पनि झेलिरहेको छु । तिनले लगाएको झुटो मुद्दा जिल्लैपिच्छे अझै पनि खेपिरहेको छु । जनताले ओली–देउवालाई खेदेर लखेटे तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोमा अझै हटेको छैन ।

सरकार छैन सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफै बस भन्छ । कारागार बाटोमा जा भन्छ । जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर बसेको छ आक्रोश लिएर बसेको छ–भन्नुस्, मैले बाँच्न पाउने कि नपाउने ?

कांग्रेस–एमालेबाट जेनजीसम्म आइसकेपछि पनि ममाथिको अन्याय नरोकिने नै हो त यो देशमा ? मलाई र म नेतृत्वको रास्वपालाई कुनै पनि लाभ चाहिएको छैन । लाउड एन्ड क्लियर ।

जेलले निस्क भनेर धकेलेर निकालेको पत्र बोकेर सुरक्षा निकायले नै सुरक्षा दिन नसक्ने त्यही जेलमा कुन विधिबाट जाऊँ?

 

धादिङ कारागारमा सेनाको गोली लागेर एकको मृत्यु, सात कैदीबन्दी घाइते

धादिङ । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

रसुवा कारागारबाट भागे ९८ कैदीबन्दी

रसुवा । रसुवाको धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी एकै पटक भागेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार कैदीबन्दीहरूले रिहाइको माग गर्दै निरन्तर हड़ताल गरिरहेका बेला नियन्त्रणमा लिन खोज्दा सबै जना कारागार तोडेर बाहिर निस्किएका हुन् ।

कारागारको सुरक्षामा प्रहरी र नेपाली सेना दुवै खटिएको भए पनि उनीहरू भागेर फरार भएका हुन् । धुन्चे कारागारमा ९८ जना कैदीबन्दी रहेका थिए । सबै कैदी फरार भएपछि सुरक्षा निकायले आसपासका क्षेत्रमा खोजतलास कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

मोरङमा कैदी भाग्न खोजेपछि चल्यो गोली

विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कारगारका कैदीबन्दी छुटाउन एउटा समूह कारागारमा पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।

कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ ।

कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । अहिले त्यहाँ सेनाले सुरक्षा दिएको छ । रवि लामिछाने छुटे जस्तै त्यहाँका कैदीबन्दी पनि छुट्नुपर्ने छुटाउन पुगेको समूहको माग छ ।

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित भागे तीन हजार बढी कैदी

काठमाडौं । काठमाडौंको सुन्धारा कारागारबाट तीन हजार बढी कैदीबन्दी भागेका छन् । कारागारमा रहेका ३,८०० बढी कैदीमध्ये अहिले पाँच सय हाराहारी कैदी मात्रै कारागारमा रहेको जनाइएको छ ।

उनीहरू गए राति नै भागेको पाइएको छ । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन् । रायमाझीसँगै पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन् ।

नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुन्धारा कारागारमा पनि कैदीले आन्दोलन थालेका थिए । राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन् । अहिले भद्रबन्दी गृहमा एक सय, केन्द्रीय बन्दीगृहमा तीन सय र महिला बन्दीगृहमा एक सय कैदीबन्दी मात्रै छन् ।

उनीहरू पनि आफै बसेका हुन् । नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब तीन हजार बढी कैदीबन्दी फरार भइसकेको बताइएको छ ।

डिल्लीबजारका कैदीलाई सुन्धारा कारागार सारिँदै, भागेका सबै सेनाको नियन्त्रणमा

काठमाडौं । आगजनी र तोडफोड गरी डिल्लीबजार कारागारबाट भागेका सबै कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।उनीहरु सबैलाई सुन्धारा कारागारमा सार्ने तयारी भइरहेको छ ।

झोला बोकेर हुलका हुल भागेका कैदीलाई डिल्लीबजारमै ल्याएपछि सेनाले प्रहरीको गाडीबाट सुन्धारा लैजान लागेको हो । करिब ६०–७० जना कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले सेनाको आदेश मान्ने भन्दै प्रहरीविरुद्ध नाराबाजी गरी कारागार छिर्न मानेका छैनन् । डिल्लीबजार कारागारमा करिब सात जना कैदीबन्दी थिए । उनीहरुमध्ये आधाजसो भागेका थिए ।

डिल्लीबजार कारागारमा आगजनी, सेनाले थाल्यो सुरक्षा

काठमाडौं । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर बढेसँगै काठमाडौंस्थित डिल्लीबजारका कैदीबन्दीहरु पनि भाग्ने प्रयास गरेका छन्। उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरी सुरक्षा थालेको छ ।

कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनु पर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ । कारागारभित्र आगो लागिरहेको छ । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागारका प्रशासक बाबुराम अर्यालले बताए ।

कपिलवस्तु कारागारबाट भागे चार सय बढी कैदीबन्दी

बुटवल । कपिलवस्तु कारागारका कैदीबन्दी कारागार तोडेर भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदीबन्दी भागेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जनाएका छन् ।

कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले तामाले जानकारी दिएका छन् । दुई ब्लकबाट भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।

कारागारबाट फरार कैदीबन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा समेत तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जल्नुका साथै भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ । फरार कैदीबन्दीको खोजी र नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

सेनाले थाल्यो सुरक्षा र गस्ती

जिल्ला सुरक्षा समिति कपिलवस्तुले २०८२ भाद्र २४ गते राति १० बजेबाट नेपाली सेनासहितको सुरक्षा गस्ती परिचालन गरेको जनाउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाही हुने सूचना जारी गरेको प्रजिअ तामाङले बताएका छन् ।

झुम्का कारागारबाट पनि भागे कैदीबन्दी

सुनसरी । सुनसरीको झुम्का कारागारबाट ठूलो संख्यामा कैदीबन्दीहरु भागेका छन् । जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएको जेलर सुवास लामिछानेले जानकारी दिएका छन् । कारागारबाट अधिकांश कैदीबन्दी भागेको उनले जानकारी दिए ।

कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या यकिन गर्न बाँकी नै छ ।’

यस्तै जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवा भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि जलाएका छन् ।

नख्खुका सबै कैदी निस्किए, रित्तियो कारागार

काठमाडौं । जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् । रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् । कारागार बाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका हुन् ।

अहिले कारागार पूरै रित्तो भएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जनाए । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने । सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो । जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

 

कास्की, तुलसीपुर र कैलाली कारागारबाट निस्के एक हजार बढी कैदीबन्दी

कास्की । जेनजीको प्रदर्शनपछि कास्की, दाङ कैलाली कारागारका एक हजार बढी कैदीबन्दी बाहिर निस्केका छन् । जेनजी प्रदर्शनकारीको प्रदर्शनपछि कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो । त्यसपछि जेन–जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।

कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन–जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन् । बेलुकी पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् ।

कारागारभित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरे पनि उनीहरू निस्किएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए । एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागे पनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।

यस्तै कैलालीमा प्रदर्शनकारीले जिल्ला कारागार कब्जा गरेका छन् । यही मौकामा कैदी–बन्दी बाहिर निस्किएका छन् । कैलालीमा स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि कफ्र्यु जारी गरे पनि त्यो निष्प्रभावी देखिएको छ । मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका आक्रोशित युवाले दर्जनभन्दा बढी कार्यालयमा क्षति पुर्‍याइसकेका छन् । उनीहरूले प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे। प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी जलाए ।

धनगढीमा पार्किङ गरेर राखिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर आगजनी गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका एउटा गाडी जलाएको स्थानीय प्रशासनले जनाएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाइएको छ । कञ्चनपुरमा पनि जेन–जी आन्दोलन उग्र बनेको छ । प्रदर्शनकारीले जनप्रतिनिधि र नेताका घरमा तोडफोड र आगजनी गरिरहेका छन् । तर सुरक्षाकर्मीले रोक्न सकेका छैनन् ।

सोमबार राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको दुई घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सांसद प्रकाश रावल, मधु भारती, भीमदत्तका प्रमुख र उपप्रमुख लगायतको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । बिहानैदेखि महेन्द्रनगरमा टायर बालेर विरोधमा उत्रिएका युवाले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । यस अविधमा आन्दोलनकारीले अख्तियार कार्यालयमा तोडफोड, नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

 

कैलाली कारागारबाट सबै कैदीबन्दी बाहिर निस्किए

कैलाली । कैलाली कारागार सबै कैदीबन्दी बाहिर निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।

त्रिशूली नदी किनारमा केन्द्रीय कारागार

नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा सञ्चालनमा रहेको केन्द्रीय कारागार र पृष्ठभूमिमा त्रिशूली नदी र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य प्लान्ट । तस्वीर : रामहरि न्यौपाने / रासस