भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या
चितवन । गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ ।
गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षीय नारायण कुमालको स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४-१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए।
कुमाल जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएको जेलर सुवास पौडेलले जानकारी दिए । जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको जेलर पौडेलले बताए ।
