`

दशैं विदामा मानवअधिकार आयोगमा एउटा मात्र उजुरी

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ ।

आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शान्ति सुरक्षा मजबुत बनाउनू : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् ।मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ। आयोगले विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गरेको छ। सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

कानुनी शासनको जगमा निकास निकाल्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ ।

‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ’मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपति समक्ष आयोगले राखेको छ ।’

आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास गरेको छ । वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

हेर्नुस् विज्ञप्ती

जेनजीको आवाजप्रति गम्भीर बन, अत्यधिक बल प्रयोग नगर : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजीको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शनका क्रममा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

प्रदर्शनको आयोगले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ,’ आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ । काठमाडौंको माइतीघरबाट सुरू भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगको भनाइ छ ।

प्रहरीको गोली लागेर दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौं व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको आयोगको भनाइ छ । ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नु पर्दछ । यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगका सहसचिवसमेत रहेका प्रवक्ता टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका प्रदर्शन पूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोगले आग्रह गरेको छ ।