जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द


महेन्द्रनगर(धनुषा)- जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् ।निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि पठनपाठन बन्द गरेको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ ।”
नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा सडकमा उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा रहेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ ।
यस्तै, शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गर्दै अवस्था सामान्य भएमा चाँडै पठनपाठन सुरु गरिने जनाइएको छ ।