सुन तस्करीका नाइके गोरे कारागार फर्किने, टोपबहादुर रायमाझी छैनन् सम्पर्कमा


काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ३८ क्विन्टल सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किने भएका छन् । गोरे ३८ क्विन्टल सुन तस्करीमा मुख्य नाइके व्यक्ति हुन् । उनी जेनजीको प्रदर्शनका क्रममा मंगलबार कारागारबाट भागेका थिए । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किने भएका हुन् ।
गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले बताएको छ । ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गर्नु भएको छ । कारागार फर्किने जानकारी गराउनु भएको छ’ कारागार स्रोतले भन्यो । जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।
मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो । प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।
छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।
प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो ।
न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जेल प्रशासनले फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै फरार भएको तेस्रो दिनपछि गोरे कारागार फर्किन लागेका हुन् । उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् । कारागार प्रशासनले कारागार नफर्किए कैदीबन्दीलाई कानून अनुसार, सशक्त कारबाही गर्ने चेतावनी दिएको छ ।