काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू


काठमाडौं । काठमाडौँ उपत्यकामा विगत ६ दिनदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू आज (शनिबार) बिहानदेखि हटेको छ । नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यूको विषयमा जानकारी दिँदै आएको थियो । तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यूसम्बन्धी सूचना जारी गरेका छैनन् ।
निषेधाज्ञा र कर्फ्यू हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू पनि आज बिहानदेखि हटेको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी गरेका थिए ।
जेनजी आन्दोलनको भावनाअनुसार गए राति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य बन्दै गएको छ । पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ ।
जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मंगलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाडौं उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको थियो ।
त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन । अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ। हिजोदेखि लामो दूरीका गाडी पनि चल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।