`

सिमरामा ‘कर्फ्यू’ तोड्दै युवाको प्रदर्शन, काठमाडौंमा पनि तयारी

काठमाडौं । बाराको सिमरा सुरु भएको तनाव थप चर्किन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अपराह्न १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू जारी गरे पनि जेनजी युवाहरू मुख्य बजारमै ठूलो संख्यामा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । प्रशासन र सुरक्षा निकायले माइकिङ गर्दै घर फर्कन आग्रह गरे पनि युवाहरू ‘कर्फ्यू तोड्दै’ प्रदर्शनमा उत्रिएका छन् ।

बारामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बिहानै सुरु भएको झडपपछि परिस्थितिलाई संवेदनशील मान्दै प्रशासनले गण्डक नहर–पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल क्षेत्रको ५०० मिटरभित्र कुनै पनि भेला, जुलुस वा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । तर कर्फ्यूको प्रभाव क्षेत्रमै युवाहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा निकायलाई थप सतर्कता अपनाउनु परेको हो ।

तनावको सुरुवात जेनजी अगुवा सम्राट उपाध्यायमाथि एमाले कार्यकर्ताले सिमरा चोकमा गरेको हातपातबाट भएको हो । मंगलबार बेलुकी उपाध्यायले सामाजिक सञ्जालमार्फत एमालेको परवानीपुरमा हुने प्रदेशस्तरीय युवा भेलालाई शान्तिपूर्ण विरोधमार्फत ‘असफल पार्ने’ घोषणा गरेपछि वातावरण झनै तातिएको थियो ।

बिहानको झडपपछि आक्रोशित जेनजी समूहले सिमरा विमानस्थल नै घेराउ गर्न पुगेका थिए । एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेतसहितका नेता विमानस्थल आउने जानकारी पाएका युवाहरूले मुख्यगेट ढालेर भित्रै ढुंगा र सिसा फाल्दै नारावाजी गरेका थिए । स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेपछि दुवै पक्षबीच झडप भएको थियो । विमानस्थल बन्द भएसँगै पोखरेल र बस्नेत काठमाडौंमै रोकिएका छन् ।

यता, बारामा भएको घटनापछि जेनजीहरू राजधानी काठमाडौंमा पनि सडकमा उत्रिने तयारीमा जुटेका छन् । राष्ट्रिय जेनजी नेपालले एमाले कार्यकर्ताले आफ्ना अगुवा उपाध्याय र अन्य युवामाथि कुटपिट गरेको भन्दै आज अपराह्न ३ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत युवाहरूलाई ठूलो संख्यामा सहभागिताको आह्वान गरिएको छ । कर्फ्यू जारी हुँदा पनि सिमरामा भीड बढ्दो छ भने काठमाडौंमा जेनजीहरु सलबलाउन थालेका छन् । सिमराबाट सुरु भएको विवाद संघीय राजधानी काठमाडौं छिर्न थालेपछि चिन्ता सिर्जना गरेको छ ।

 

 

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

काठमाडौं । काठमाडौँ उपत्यकामा विगत ६ दिनदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू आज (शनिबार) बिहानदेखि हटेको छ । नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यूको विषयमा जानकारी दिँदै आएको थियो । तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यूसम्बन्धी सूचना जारी गरेका छैनन् ।

निषेधाज्ञा र कर्फ्यू हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू पनि आज बिहानदेखि हटेको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी गरेका थिए ।

जेनजी आन्दोलनको भावनाअनुसार गए राति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य बन्दै गएको छ । पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ ।

जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मंगलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाडौं उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको थियो ।

त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन । अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ। हिजोदेखि लामो दूरीका गाडी पनि चल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।

दिउँसोको कर्फ्यू हट्यो, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा आज (शुक्रबार) बिहान सवारी साधनहरुको संख्या अलि बाक्लो देखिएको छ ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यू हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कफ्र्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यू हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ । जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।

जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुनः निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो ।

त्यसक्रममा सुरुमा देशभर कर्फ्यू आदेश जारी गरेको सेनाले अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरेको छ । उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् । सरल भाषामा भन्दा निषेधाज्ञा लगाउनुको उद्देश्य मानिसहरुको भिडभाड रोक्नु हो । कर्फ्यू  भने आवतजावत र हिँडडुल नै बन्द गर्ने कडा आदेश हो ।

काठमाडौंमा आज बिहान पाँच घण्टा र साँझ दुई घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यूको समय घटाउँदै जनजीवन सहज बनाउने भएको छ । जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न दिने भएको छ ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरुबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ ।

सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यू आदेश जारी रहने जनाएको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तैः एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ ।

विभिन्न सरकारी कार्यालय, मानवअधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाइएको छ । आन्तरिक र वाह्य उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने छन् ।

हेर्नुस् नेपाली सेनाको पछिल्लो सूचना

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र आज (मंगलबार) कर्फ्यू आदेश जारी गरेको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यू अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यू लगाइएको हो ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

काठमाडौंमा हिजो लगाइएको कर्फ्यू अवधि सकियो, आज के हुन्छ ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्यू अवधि आज (मंगलबार) बिहान ५ बजे सकिएको छ । हिजो दिनभरजसो अशान्त बनेको सडकमा अहिले फाट्टफुट्ट गाडीहरु चलिरहेका छन् । अहिले सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका देखिन्छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ । प्रहरीसँग झडप सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्यूको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।

त्यसपछि पनि कर्फ्यू हटाइयो कि थपियो भन्नेबारे प्रशासन कार्यालयले केही जानकारी गराएको छैन । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्तालगायत कसैले पनि फोन उठाएका छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने आज जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने जानकारी दिए ।

राष्ट्रपति, प्रधानमन्त्री निवाससहित संवेदनशील क्षेत्रमा पनि ‘कर्फ्यू’

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसरलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यू थप गरेको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिसकेको छ ।