सिमरामा ‘कर्फ्यू’ तोड्दै युवाको प्रदर्शन, काठमाडौंमा पनि तयारी
काठमाडौं । बाराको सिमरा सुरु भएको तनाव थप चर्किन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अपराह्न १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू जारी गरे पनि जेनजी युवाहरू मुख्य बजारमै ठूलो संख्यामा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । प्रशासन र सुरक्षा निकायले माइकिङ गर्दै घर फर्कन आग्रह गरे पनि युवाहरू ‘कर्फ्यू तोड्दै’ प्रदर्शनमा उत्रिएका छन् ।
बारामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बिहानै सुरु भएको झडपपछि परिस्थितिलाई संवेदनशील मान्दै प्रशासनले गण्डक नहर–पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल क्षेत्रको ५०० मिटरभित्र कुनै पनि भेला, जुलुस वा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । तर कर्फ्यूको प्रभाव क्षेत्रमै युवाहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा निकायलाई थप सतर्कता अपनाउनु परेको हो ।
तनावको सुरुवात जेनजी अगुवा सम्राट उपाध्यायमाथि एमाले कार्यकर्ताले सिमरा चोकमा गरेको हातपातबाट भएको हो । मंगलबार बेलुकी उपाध्यायले सामाजिक सञ्जालमार्फत एमालेको परवानीपुरमा हुने प्रदेशस्तरीय युवा भेलालाई शान्तिपूर्ण विरोधमार्फत ‘असफल पार्ने’ घोषणा गरेपछि वातावरण झनै तातिएको थियो ।
बिहानको झडपपछि आक्रोशित जेनजी समूहले सिमरा विमानस्थल नै घेराउ गर्न पुगेका थिए । एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेतसहितका नेता विमानस्थल आउने जानकारी पाएका युवाहरूले मुख्यगेट ढालेर भित्रै ढुंगा र सिसा फाल्दै नारावाजी गरेका थिए । स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेपछि दुवै पक्षबीच झडप भएको थियो । विमानस्थल बन्द भएसँगै पोखरेल र बस्नेत काठमाडौंमै रोकिएका छन् ।
यता, बारामा भएको घटनापछि जेनजीहरू राजधानी काठमाडौंमा पनि सडकमा उत्रिने तयारीमा जुटेका छन् । राष्ट्रिय जेनजी नेपालले एमाले कार्यकर्ताले आफ्ना अगुवा उपाध्याय र अन्य युवामाथि कुटपिट गरेको भन्दै आज अपराह्न ३ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत युवाहरूलाई ठूलो संख्यामा सहभागिताको आह्वान गरिएको छ । कर्फ्यू जारी हुँदा पनि सिमरामा भीड बढ्दो छ भने काठमाडौंमा जेनजीहरु सलबलाउन थालेका छन् । सिमराबाट सुरु भएको विवाद संघीय राजधानी काठमाडौं छिर्न थालेपछि चिन्ता सिर्जना गरेको छ ।
