`

वीरगञ्जमा फेरि लम्बियो कर्फ्यू

Nepal One HD २२ पुष २०८२ १४:२६
प्रमुख खबर

वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी कर्फ्यू फेरि लम्बिएको छ । स्थानीय प्रशासनले धार्मिक एवं सामाजिक तनाव नियन्त्रणमा राख्न सोमबार साँझदेखि लगाएको  कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म थप गरिएको हो । यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लागू गरिएको  कर्फ्यू दिउँसो १ बजेसम्म लम्बाइएपछि अब साँझ ६ बजेसम्म कायम राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कर्फ्यू आदेशका अनुसार वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन । प्रशासनले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । यदि कुनै अत्यावश्यक कारणले बाहिर निस्किनु परेमा नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा फोन गरी समन्वय गर्न भनिएको छ ।

कर्फ्यू अवधिभर आवश्यक सेवाका सवारी साधनहरू, स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल, शव वाहन, सञ्चारकर्मी, पर्यटक, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूमा प्रशासनले सहजीकरण गर्नेछ । साथै, हवाई टिकटसहित हवाई यात्रुहरूलाई समेत बाहिर जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

स्थानीय प्रशासनले  कर्फ्यू लगाउनु पर्ने अवस्था धनुषामा भएको मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलेको घटनासँग सम्बन्धित भएको जनाएको छ । यस घटनापछि मुस्लिम र हिन्दू समुदायबीच प्रदर्शन सुरु भएको थियो, जसले वीरगञ्जको सुरक्षा चुनौती बढाएको थियो । प्रशासनले धार्मिक सद्भाव भड्किन नदिन तुरुन्त  कर्फ्यू जारी गरेको हो । प्रहरी र प्रशासनले लगातार समुदायबीचको तनाव नियन्त्रणमा राख्न सक्रिय निगरानी गरिरहेको छ । शहरमा जारी अस्थिर परिस्थितिका कारण नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले जोड दिएको छ ।

हेर्नुस् सूचना

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *