काठमाडौंमा आज बिहान पाँच घण्टा र साँझ दुई घण्टा आवतजावत गर्न पाइने


काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यूको समय घटाउँदै जनजीवन सहज बनाउने भएको छ । जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न दिने भएको छ ।
‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरुबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ ।
सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यू आदेश जारी रहने जनाएको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तैः एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ ।
विभिन्न सरकारी कार्यालय, मानवअधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाइएको छ । आन्तरिक र वाह्य उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने छन् ।
हेर्नुस् नेपाली सेनाको पछिल्लो सूचना