दिउँसोको कर्फ्यू हट्यो, काठमाडौंमा चहलपहल बढ्यो


काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा आज (शुक्रबार) बिहान सवारी साधनहरुको संख्या अलि बाक्लो देखिएको छ ।
नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यू हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कफ्र्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यू हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।
अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ । जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।
जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुनः निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो ।
त्यसक्रममा सुरुमा देशभर कर्फ्यू आदेश जारी गरेको सेनाले अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरेको छ । उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् । सरल भाषामा भन्दा निषेधाज्ञा लगाउनुको उद्देश्य मानिसहरुको भिडभाड रोक्नु हो । कर्फ्यू भने आवतजावत र हिँडडुल नै बन्द गर्ने कडा आदेश हो ।