`

रास्वपाको चेतावनी- घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध हुने

Nepal One HD २८ भदौ २०८२ १९:५४
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महिला प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारलाई संविधान पालना, भ्रष्टाचारविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधारका पक्षमा सक्रिय बन्न आग्रह गरेको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले शनिवार जारी गरेको विज्ञप्तिमा रास्वपाले कठिन संक्रमणकालीन अवस्थामा मुलुकलाई पार लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएको उल्लेख गर्दै भदौ २३ गते नवयुवा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपकै आधारमा यो परिवर्तन सम्भव भएको बताएको छ। तर, यस प्रक्रियाले संविधान पालना सम्बन्धी प्रश्न पनि उब्जाएको विज्ञप्तिमा जनाइएको छ।

साथै विज्ञप्तिमा घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध गर्ने चेतावनी दिँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यस्तै रास्वपाले यही वर्षको फागुन २१ मा तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग र विधि अनुसारको असल शासन सुनिश्चित गर्न सरकारप्रति अपेक्षा गरेको जनाएको छ।

साथै चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम चाल्न, पुनर्निर्माण तथा आर्थिक सुधारमा प्राथमिकता दिन, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न र विकासमा गुणस्तरीय दूतत्व देखाउन पनि रास्वपाले अन्तरिम सरकारलाई आग्रह गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *