`

प्राण त्याग्नुअघि नरेशले नाम लिएका चार जना पक्राउ

Nepal One HD २९ भदौ २०८२ १७:३७
समाज

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए ।

उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए । शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभमा आएर प्राण त्यागेका थिए । आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको आरोप लगाएका थिए । केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए ।

‘मलाई सोसल अत्याचार भयो । म मर्दैछु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका थिए्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो । मलाई नाङ्गै बनाएर दौडायो, गाइज ।’ मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन् ।

‘सुरुमा रक्सी पिलाएका रहेछन् । त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे । त्यस्तो अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो, मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ’, उनले सुनाइन् । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा चार जनाविरुद्ध किटानी जाहेरी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *