`

प्रधानमन्त्री कार्कीलाई नारायणकाजीका ६ सुझाव

Nepal One HD ३० भदौ २०८२ १०:३१
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् । कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आफूले फोनमार्फत बधाई तथा शुभकामनासँगै केही सुझाव दिन खोजे पनि त्यो सम्भव नभएको भन्दै उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीलाई केही सुझाव दिएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचनमा केन्द्रित गर्न, जेनजी आन्दोलमा भएको जनधनको क्षतिको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही माग गरेका छन् ।

त्यस्तै उनले ध्वंस गरिएका संरचनाको पुनर्निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरु गर्न, भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन र प्रतिनिधिसभा नरहेको अहिलेको अवस्थामा संघीय संसद्को भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न पनि उनले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।

‘तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह संकटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ,’ उनले भनेका छन् ।

हेर्नुस् नारायणकाजी श्रेष्ठका सुझाव

सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ । तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु । तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु ।

एक– तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई–तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।

तीन–भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथी कारवाही गर्नुस् ।

चार–ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

पाँच–भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

छ–प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *