`

माओवादी वैठक : समूहगत निष्कर्ष सुनाइँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिमा आज (शुक्रबार) समूहगत निष्कर्ष राख्ने सुनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ । यो समूहका नेता जगत सिंखडाले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वम्मतिमा पास गरेको रिर्पोटिङ गरेका छन् ।

एउटा प्रदेशबाट रिर्पोटिङ गरेपछि एक जना पदाधिकारीले बोल्ने र त्यसपछि अर्को प्रदेशमा जाने र फेरि एक जना पदाधिकारीले बोल्ने गरी समय व्यवस्थापन गरिएको छ । कोशी प्रदेशबाट उपमहासचिव हरिबोल गजुरेल बोलेका छन् । उनले वर्तमान नेतृत्वको निरन्तरता आवश्यक रहेको बताए । अहिले लुम्बिनी प्रदेशको निष्कर्ष प्रस्तुत भइराखेको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यबाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ । तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’

२३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । क्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।

कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा माओवादी केन्द्रले माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन गरेर आगामी फागुन २१ को चुनावको तयारीमा जुट्ने उनको प्रस्ताव छ । यसबीचमा समेत माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकताको गृहकार्य भइराखेको छ । यो बेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा भनेका छन्, ‘विभिन्न पार्टीहरुसंगको एकतालाई जोड गर्नुपर्छ । यसका लागि वातावरण बन्दै गएको छ, बनाउनुपर्ने पनि छ ।’ आज प्रचण्डका यी लगायतका प्रस्तावमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।

प्रधानमन्त्री कार्कीलाई नारायणकाजीका ६ सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् । कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आफूले फोनमार्फत बधाई तथा शुभकामनासँगै केही सुझाव दिन खोजे पनि त्यो सम्भव नभएको भन्दै उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीलाई केही सुझाव दिएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचनमा केन्द्रित गर्न, जेनजी आन्दोलमा भएको जनधनको क्षतिको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही माग गरेका छन् ।

त्यस्तै उनले ध्वंस गरिएका संरचनाको पुनर्निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरु गर्न, भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन र प्रतिनिधिसभा नरहेको अहिलेको अवस्थामा संघीय संसद्को भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न पनि उनले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।

‘तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह संकटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ,’ उनले भनेका छन् ।

हेर्नुस् नारायणकाजी श्रेष्ठका सुझाव

सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ । तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु । तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु ।

एक– तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई–तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।

तीन–भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथी कारवाही गर्नुस् ।

चार–ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

पाँच–भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

छ–प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं ।

जेनजी आन्दोलनमा प्रचण्डसहित यी माओवादी नेताको घरमा भयो आगजनी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यता शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारणले पार्टीका नेताहरूको घर जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीले निष्कर्ष निकालेको छ । जेनजी युवाको प्रदर्शनको काठमाडौंको कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला पार्टी कार्यालयहरुमा पनि तोडफोड र आगजनी भएको थियो ।

हेर्नुस् तोडफोड र आगजीको विवरण

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी ।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

संसदसँगै पुराना पार्टीहरू पनि विघटनको दिशामा गए : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदसँगै पुराना पार्टीहरू पनि विघटनको दिशामा गएको टिप्पणी गरेका छन् । अब पुराना र नयाँ पार्टीहरूले पनि आन्दोलनको म्याण्डेट अनुसार पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौं ।’ माओवादीमा यसअघिदेखि नै शर्माले प्रचण्ड नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठनको माग गर्दै आएका थिए । उनले पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका थिए ।