लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’
२३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । क्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।
कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा माओवादी केन्द्रले माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन गरेर आगामी फागुन २१ को चुनावको तयारीमा जुट्ने उनको प्रस्ताव छ । यसबीचमा समेत माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।
नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकताको गृहकार्य भइराखेको छ । यो बेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा भनेका छन्, ‘विभिन्न पार्टीहरुसंगको एकतालाई जोड गर्नुपर्छ । यसका लागि वातावरण बन्दै गएको छ, बनाउनुपर्ने पनि छ ।’ आज प्रचण्डका यी लगायतका प्रस्तावमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।