`

‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’

Nepal One HD ३० भदौ २०८२ २०:३६
समाज

काठमाडौँ, ३० भदौ: हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ ।

सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई औपचारिक रूपमा बुझाइएको छ । यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ । “विशेषगरी प्रहरी र बालबालिका तथा युवाहरूबीच गहिरो अविश्वास भएको छ । आगामी दिनमा बालअधिकार उल्लङ्घन रोक्न शान्ति निर्माण र रूपान्तरणको आवश्यकता छ”, प्रतिवेदनमा भनिएको छ ।

सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सरकारने तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चित गर्न, अत्यधिक बल प्रयोग नगर्न, पीडितलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा राज्यद्वारा भएको दमनको स्वतन्त्र छानबिन सुरु गर्नु आग्रह गर्नुभयो ।

अध्ययनका मुख्य सिफारिसहरूमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधन गर्न बालमैत्री मासिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरूलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापना गर्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका दृष्टिकोणलाई समावेश गर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकर्मीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने विषय समावेश छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलल प्रतिवेदनमा मृत्यु र घाइतेसम्बन्धी तथ्यगत विवरणसहित नेपालको अन्तरराष्ट्रिय तथा राष्ट्रिय कानुनअन्तर्गतका प्रतिबद्धता, साथै बालबालिकाको अधिकार र सुरक्षाप्रति राज्यको प्रतिबद्धताको गम्भीर उल्लङ्घन भएको स्मरण गराइएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *