`

धरान फर्केर ‘धरधरी’ रोए मेयर साम्पाङ : विदेशीले ‘टेकओभर’ गर्न सक्ने औंल्याए खतरा

Nepal One HD ३१ भदौ २०८२ १३:२८
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछि सिर्जित परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् । प्रधानमन्त्री बन्ने उद्देश्यले काठमाडौं आएका उनी मन्त्री पनि नबनि रित्तो हात घर फर्किएका थिए ।
काठमाडौंबाट धरान पुगेपछि पत्रकारहरूको भेटमा विदेशीले देशलाई टेकओभर गर्न सक्ने खतरा रहेको भन्दै उनी भक्कानिएका हुन् । धरानमा केही सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगरेको दावी गरेका छन् ।

केही पत्रकारले ‘यतिखेर नरुनुस्’ भनेर समेत सम्झाएका थिए । त्यसपछि सम्हालिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’

हर्कले भने, ‘पार्टीहरूका कार्यालय तहसनहस छन् । अब को शक्ति आउने हो देशमा ? कोही छैन । कसले त्यस्तो ग¥यो, कसरी त्यस्तो भयो भन्ने कसैलाई थाहा नभएको स्थिति छ । अनि मलाई सबै मान्छेले काठमाडौै जानु भने । त्यत्रो मान्छेले भनिसकेपछि मलाई लाग्यो, म त देश बनाउन आएको मान्छे हो ।’

उनले भने, ‘मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ तपाईँहरू… म जतिको हिम्मतिलो मान्छे यो देशमा कोही पनि छैन ।’ आफूलाई शुभचिन्तकहरूले काठमाडौंमा गोली लाग्न सक्छ भन्दा पनि ‘लाग्छ भने लागोस्’ भनेर गएको बताए । नेता भनाउँदाहरूले सबै लुकिरहेको वेलामा यो देश बचाउनलाई आफूले आगोमा हामफाल्ने निर्णय गरेको समेत सुनाए । यही कारण धरानबाट पाँच सय किलोमिटर टाढा काठमाडौं पुगेको बताए ।

आफूलाई प्रधानमन्त्री बनाउने विषयमा काठमाडौंमा धेरै छलफल भए पनि निकास ननिस्किएको बताए । ‘यो अटेरी छ, हाम्रो लाइनमा आउँदैन भन्ने कुरा भएछ । मिनिस्टर हुनलाई सहमति गर्नुपर्ने रे । त्यस्तो खालको मान्छे होइन म । अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन म । धरानको मेयर टीका लगाएर होइन, १० वर्षसम्म एक्लै चप्पल पड्काएर अभियान चलाएर पाएको हो’, उनले ।

उनले यो सरकार गठनमा एक गेमर भएको अपुष्ट आरोप पनि लगाएका छन् । त्यही गेमर व्यक्तिले सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्ने उनको भनाइ छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि मेयर हर्क प्रधानमन्त्री बन्न काठमाडौं आएका थिए । प्रधानमन्त्री बन्न नसकेपछि मन्त्री बन्नलाई शीतलनिवासमा पुगेको समाचार पनि बाहिरिएको थियो । धरान उपमहानगरकै गाडीमा काठमाडौं आएका उनी अहिले धरान फर्किएर त्यहाँ पत्रकारहरूसँग भेटघाट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *