काठमाडौं । श्रम संस्कृति पार्टीभित्र आन्तरिक अनुशासनको विषय फेरि चर्चामा आएको छ । पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन् । शनिबार बुटवलको ट्राफिक चोकमा आयोजित पार्टीको सभामा परियारले दिएको अभिव्यक्ति र त्यसपछिको व्यवहारले पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गरिएको अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
साम्पाङले सार्वजनिक गरेको स्टाटसमा श्रम संस्कृतिमा पदका आधारमा ठूलो–सानो नहुने उल्लेख गर्दै कार्यक्रमकै क्रममा आयोजक र सहसंयोजकप्रति गरिएको व्यवहार आपत्तिजनक भएको जनाएका छन् । ‘श्रम संस्कृतिमा कोही सानो, कोही ठूलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्लङ्घन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु’, उनले लेखेका छन् । तर, कारबाहीको स्वरूप र अवधि भने स्पष्ट खुलाइएको छैन ।
घटना शनिबार बुटवलमा पार्टीले आयोजना गरेको सभाको क्रममा भएको हो । स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेपछि टीका लगाउने र पार्टी प्रवेशको कार्यक्रम सुरु गरिएको थियो । यही क्रममा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधनका लागि आमन्त्रण गरेका थिए । तर, उनको बोलाइ सुरु हुँदा अधिकांश सहभागीको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र फोटो खिच्ने कार्यक्रममा केन्द्रित भएपछि परियार असन्तुष्ट देखिएका थिए।
सम्बोधनकै क्रममा परियारले आयोजक समितिप्रति सार्वजनिक रूपमा असन्तोष व्यक्त गर्दै आफूलाई केन्द्रीय उपाध्यक्षका हैसियतले बोल्न पाउनु पर्ने बताएका थिए। ‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नु भएको छ । ध्यान यता, मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हुँ, म पनि बोल्न पाउनु पर्छ । ध्यान अन्त मोडिनु हुँदैन’, भन्दै उनले कार्यक्रम रोक्न समेत आग्रह गरेका थिए । उनले आफू दुई दिनदेखि बुटवलमा रहेर मेहनत गरेको उल्लेख गर्दै कार्यक्रमको सेड्युल नमिलेको अनुभूति भएको बताए र आयोजक कमिटीले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।
सभापछि समेत परियारले आयोजक कमिटीका सहसंयोजकप्रति अपशब्द प्रयोग गरेको जानकारी आएपछि अध्यक्ष साम्पाङले यसलाई गम्भीर रूपमा लिँदै आचारसंहिता उल्लङ्घन भएको निष्कर्ष निकालेका हुन् । पार्टी नेतृत्वका अनुसार श्रम संस्कृति पार्टीमा पदभन्दा व्यवहार र अनुशासनलाई प्राथमिकता दिइन्छ, र त्यसविपरीत जाने जो–कोहीलाई कारबाही गरिने नीति कायम रहेको छ ।
यो पहिलो पटक होइन, श्रम संस्कृति पार्टीका उपाध्यक्ष कारबाहीमा परेको । यसअघि विष्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पनि पार्टीले कारबाही गरिसकेको छ । लगातार उपाध्यक्ष तहका नेताहरू कारबाहीमा पर्न थालेपछि पार्टीभित्रको आन्तरिक अनुशासन, नेतृत्व शैली र व्यवस्थापनबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।

