कुलमान लक्षित हर्क साम्पाङको कटाक्ष : दोहोरो चरित्रका मान्छे खतरनाक हुन्छन्
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले उर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै लक्षित गर्दै ‘दोहोरो चरित्रका मानिस खतरनाक हुन्छन्’ हुने टिप्पणी गरेका छन् । राजधानीमा आयोजित पार्टीको आमसभामा उनले ‘बत्ती बाल्ने एक जना सर’ भन्दै नाम नलिइकन उर्जामन्त्री कुलमान घिसिङप्रति असन्तुष्टि प्रकट गरे । उनले घिसिङ आफ्नो बाटोमा तगारो बनेको समेत आरोप लगाए ।
उनले आरोप लगाउँदै भने, ‘हाम्रो बाटो छेक्न धेरै मान्छे प्रयोग हुन्छन् । अहिले बत्ती बाल्ने एक जना सर आएर कहिले आफ्नो पार्टी होइन भन्छन्, कहिले हो भन्छन् । लिस्टमा नाम समेत नभएको व्यक्तिलाई देखाएर श्रम संस्कृतिको बाटो रोकिन्छ भन्ने सोचिएको छ ।’ आफूले जाति–समुदायलाई होइन, व्यक्तिको ‘दोहोरिएको व्यवहार’ लाई मात्र संकेत गरेको स्पष्टीकरण पनि उनले दिए । नेतृत्वमा स्पष्टता र प्रतिबद्धता अपरिहार्य भएको उल्लेख गर्दै साम्पाङले भने, ‘नेतृत्व रहस्यमय हुँदैन, दोहोरो चरित्रका मान्छे खतरनाक हुन्छन् । हामी प्रतियोगितामा एक्लै दौडिरहेका छौँ, बीच–बीचमा बाँसको तगारो जस्तै बाधा आउँछ । तर त्यस्तोले हामीलाई रोक्दैन ।’
त्यसैगरी, श्रम संस्कृति पार्टीको नेतृत्वमा देश परिवर्तनका ठोस उपाय रहेको दाबी गर्दै साम्पाङले आफूहरू भाषणको भरमा नेता बन्ने किसिमका नभएको बताए । उनले जनताका बस्ती–बस्तीमा गएर वास्तविक समस्या बुझेको र त्यही अनुभवकै आधारमा नयाँ राजनीतिक विकल्प तयार गरेको दाबी गरे । आर्थिक समृद्धिका लागि श्रम र स्वावलम्बनलाई मूल मन्त्र बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘हामी विदेशी ऋणको भरमा पुल–सडक बनाउँदैनौं । श्रमदानमार्फत देश विकास गर्ने मोडेल हाम्रो हो । युवालाई देशकै संस्कृतिसँग जोडेर आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउने मिशनमा हामी छौं।’ साम्पाङले तीन करोड नेपालीले परिवर्तन चाहेको भन्दै नयाँ राजनीतिक धारको समर्थन थप बढ्दै गएको दावी समेत व्यक्त गरेका छन् ।
