हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, आफै अध्यक्ष


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका जनाइएको छ ।
‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैं रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले सुनायो । दल दर्ताका लागि निवेदन प्राप्त भइसकेको र अध्ययनकै क्रममा रहेको जनाइएको छ ।
‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दश बिदा लगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो । धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए । मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन् ।
आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ। प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
उनी जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आएका थिए । तर, उनको नाममा सहमति जुटेन । साम्पाङले मन्त्री बन्न भारतीय दूतावास जानुपर्ने रहेछ भन्दै आफू त्यसको लागि तयार नरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।