मन्त्री घिसिङ आज संसद भवन अवलोकनमा जाने, शहीदका परिवारलाई भेट्ने


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज (बुधबार) बानेश्वरस्थित क्षतिग्रस्त संसद भवन अवलोकन तथा जेनजी आन्दोलनका शहीदका घरमा जाने भएका छन् । मन्त्री घिसिङ अहिले बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुने उनको सचिवालयले जनाएको छ । त्यस लगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन् ।
त्यसपछि जेनजी विद्रोहमा शहीद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सरकारले आन्दोनलमा मारिएकाहरूको पीडामा आजै राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । घिसिङलाई ऊर्जासँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबार र सर्वोच्च अदालतसँगै संसद् भवनमा पनि तोडफोड र आगजनी गरेका थिए ।
भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा यही भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ७२ जना मारिए भने सयौँ घाइते भएका छन् । सरकारका अनुसार आन्दोलनमा मारिएका ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन् । आन्दोलनमा मारिएका युवालाई सरकारले शहीद घोषणा गरेको छ भने पीडित परिवारलाई जनही १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।
मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।