तेस्रो पटक ‘नेगेटिभ सर्किट’, शेयर कारोबार बन्द


काठमाडौं । लगानीकर्ताहरू आत्तिएपछि शेयर बजारमा आज (बिहीबार) केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ । बजारमा सात अर्ब २८ करोडको शेयर किनबेच भएको छ । बजारमा जम्मा सात मिनेट मात्रै कारोबार हुन पायो । शेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।
२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ ।
भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आंकलन गरिँदै आएको छ । बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ ।
अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन् । बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् । अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन् । यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन् ।
यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन । तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ। यही कारण हिमालयन रि इन्सुरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । हिमालयन रिको आठ सय ७८ रूपैयाँमा शेयर कारोबार भएको हो । नेपाल रि इन्सुरेन्सको पनि शेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयर मूल्य एक हजार चार सय ६८ रूपैयाँका कारोबार भएको छ ।