`

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो ।

उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ ।

भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उनले जानकारी दिए । गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो ।

शेयर बजारमा नकारात्मक ‘सर्किट’, अर्थमन्त्रीले बनाए अध्ययन कार्यदल

काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटकसम्म लगातार नकारात्मक सर्किट लाग्यो । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिएका छन् । नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शेयर बजारका समस्या अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।

जसको सदस्यहरूमा नेपाल राष्ट्र बैंकको निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । यस कार्यदलले पुँजी बजारमा विकसित तथा समस्याको अध्ययन गरी आम तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना पेश गर्नेछ । यस्तो सुझाव तथा योजना पाँच दिनभित्र प्रस्तुत गर्न समेत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

तेस्रो पटक ‘नेगेटिभ सर्किट’, शेयर कारोबार बन्द

काठमाडौं । लगानीकर्ताहरू आत्तिएपछि शेयर बजारमा आज (बिहीबार) केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ । बजारमा सात अर्ब २८ करोडको शेयर किनबेच भएको छ । बजारमा जम्मा सात मिनेट मात्रै कारोबार हुन पायो । शेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।

२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आंकलन गरिँदै आएको छ । बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ ।

अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन् । बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् । अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन् । यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन् ।

यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन । तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ। यही कारण हिमालयन रि इन्सुरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । हिमालयन रिको आठ सय ७८ रूपैयाँमा शेयर कारोबार भएको हो । नेपाल रि इन्सुरेन्सको पनि शेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयर मूल्य एक हजार चार सय ६८ रूपैयाँका कारोबार भएको छ ।