शेयर बजारमा नकारात्मक ‘सर्किट’, अर्थमन्त्रीले बनाए अध्ययन कार्यदल


काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटकसम्म लगातार नकारात्मक सर्किट लाग्यो । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिएका छन् । नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शेयर बजारका समस्या अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।
जसको सदस्यहरूमा नेपाल राष्ट्र बैंकको निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । यस कार्यदलले पुँजी बजारमा विकसित तथा समस्याको अध्ययन गरी आम तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना पेश गर्नेछ । यस्तो सुझाव तथा योजना पाँच दिनभित्र प्रस्तुत गर्न समेत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।