रास्वपाले मतदाता नामावली दर्ताका लागि अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले जेनजीका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरुले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
पार्टीले प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास / कन्सुलेट तथा नेपालका अन्तरराष्ट्रिय विमानस्थलका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न प्रस्तावसमेत गर्ने जनाएको छ ।
यस्तै, रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने निर्णय गरेको छ । “जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्नेछ”, बैठकका निर्णय समावेश विज्ञप्तिमा भनिएको छ ।
आगामी फागुनमा आमनिर्वाचन तय भएसँगै रास्वपाको पहिलो महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ । सचिवालयको बैठकले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनबारे आवश्यक छलफल र निर्णय आगामी बैठकमा गर्ने प्रस्ताव समेत गरेको छ ।