जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता


हुम्ला । काठमाडौंमा भएको जेन–जी आन्दोलनमा गएका हुम्लाको नाम्खा गाउँँपालिका–३ खगालगाउँ थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँको तीनचुलीमा बस्दै आएका तामाङ भदौ २३ गते जेन–जी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए ।
होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजेतिर प्रदर्शनमा गएकोमा हालसम्म सम्पर्कमा आएका छैनन् । बुबा टसी छिरिङकाअनुसार हालसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी भइसकेको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा नफर्किएपछि खोजी गरिदिन उनको आग्रह छ । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् । पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि लामा कोठामा फिर्ता नभएको बुबा टसी छिरिङले बताए । ११ दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको उनले बताएका छन् ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन् । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए ।