`

शीतलनिवास ‘सेलिब्रेट’ का लागि गएको होइन : सुदन गुरुङ

Nepal One HD ४ असोज २०८२ १६:२६
प्रमुख खबर

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू ‘सेलिब्रेट’ का लागि नगएको बताएका छन् । आज (शनिबार) उनले भिडिओ वक्तव्य जारी गर्दै सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन समेत जेनजीहरूलाई आग्रह गरेका छन् ।

‘हामी आफैले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नु पर्छ,’ गुरुङले भनेका छन्, ‘सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ । म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’

गुरुङ संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ राजनीतिक दलका नेताहरू पनि सहभागी थिए । नेताहरुलाई त्यहाँ बोलाइएको र उनीहरूले ठाडो शीर नपारुन् भनेर आफू त्यहाँ गएको उनको भनाइ छ ।

‘नेताहरु सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो,’ गुुरुङले भनेका छन्, ‘त्यहाँ म एउटा नेतासँग पनि बसिनँ । एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ । म उभिएरै बसें । पानीमा रुझेर बसेको हुँ ।’

राष्ट्रपति निवासको आफूले पानी समेत नखाएको बताएका छन् । ‘चिया खाम भनेको थियो, मैले चिया खाँदिनँ भने,’ गुरुङले भनेका छन्, ‘पानी खादिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन । यिनीहरू (नेताहरू) शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो ।’

आफूले नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको र यसरी नचल्ने बताएको गुरुङको भनाइ छ । यस्तै राष्ट्रपति र संविधान नै नरहँदा देश नै अप्ठ्यारोमा पर्ने भन्दै आफूले त्यो विषयमा अडान नलिएको समेत उनले बताएका छन् । आफूमा कुनै लोभ नभएको र आफूले व्यक्तिगतरुपमा केही पनि नमागेको गुरुङले दाबी गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *