`

गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भयाे : सुदन गुरुङ

काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण बाराको सिमरा घटना भएको आरोप लगाएका छन् । गुरुङले बारा पुगेर पनि गृहमन्त्री अर्यालमाथि असन्तुष्टि व्यक्त गरेका छन् । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा प्रशासन र जेनजीबीचको वार्तामा सहभागी हुँदै उनले सरकार जेनजीको भए पनि गृहमन्त्री आफूहरूको नभएको बताए ।

उनले भने, ‘सरकार हाम्रो हो । तर, गृह मन्त्रालय हाम्रो होइन । गृह मन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’

देशका लागि लडेका जेनजीहरूले नै अन्याय सहनु पर्ने भन्दै बाराका प्रशानसँग उनले प्रश्न गरे, ‘हामीले कहिलेसम्म सहनु पर्ने ? हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र ? हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’ नेकपा एमालेप्रति संकेत गर्दै उनले भने, ‘प्रहरी र हामीलाई उनीहरूले भिडाइ दिए ।’ सरकारले जेनजीमाथि गोली हानेकै कारण २३ भदौपछि २४ भदौको घटना भएको उनले बताएका छन् ।

 

 

 

 

 

सुदनको आक्रोशपूर्ण प्रश्न : कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्री ज्यू ?

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले मुलुकमा विधिको शासन दिन प्रतिदिन कमजोर हुँदै गएको भन्दै गृह मन्त्रालय तथा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले हाल भइरहेको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै राज्य शक्तिशाली व्यक्तिहरूका उक्साउने, विभाजनकारी र हिंसात्मक अभिव्यक्तिप्रति आँखामुनि हेरेर मौन बसेको आरोप लगाए ।

गुरुङले दुर्गा प्रसाईले आफ्नो नागरिकतासम्बन्धी तथ्य गलत रूपमा प्रस्तुत गर्दै बदनाम गर्ने प्रयास गरे पनि त्यसभन्दा गम्भीर अभिव्यक्ति दिँदै समाजमा तनाव फैलाउने प्रभावशाली व्यक्तिहरूविरूद्ध राज्य पूर्णतः निस्क्रिय देखिएको उनले बताएका छन् । उनले प्रश्न उठाएका छन्, ‘शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवामाथि गोली चलाउनेहरू आजसम्म मुक्त छन्, तर त्यस्ता घटनामा गृह मन्त्रालयको कठोरता देखिन्न । अपराधको परिभाषा के केवल कमजोरलाई मात्रै लागू हुन्छ ?’

गुरुङले आफूलाई ‘संविधानविद’ दाबी गर्ने कतिपय व्यक्तिले साना नागरिकलाई कानुनले थिच्ने तर शक्तिशालीलाई उन्मुक्ति दिने संस्कृति संस्थागत गरिरहेको आरोप पनि लगाएका छन् । उनले कटाक्ष गर्दै भनेका छन्, ‘संविधानको कुन प्रावधानले भन्छ–सानालाई ऐन, ठूलाई चैन ? यदि विधिको शासन कार्यान्वयन हुनै सक्दैन भने पुरानो र नयाँ शासनबीच भिन्नता के रह्यो ?’

देशभरबाट उठिरहेको युवा आन्दोलनलाई दबाउने प्रयास गलत दिशातर्फ उन्मुख भएको उनको भनाइ छ । उनका अनुसार हजारौं युवाले आन्दोलनमार्फत दिएका बलिदान र आवाजको सम्मान नगर्ने प्रवृत्तिले शासनप्रति भरोसा कमजोर बनाइरहेको छ ।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशित गर्दै भनेका छन्, ‘युवालाई न्याय दिने वाचा गर्ने गृहमन्त्री आज पदको आडमा तिनै युवालाई अपराधी सावित गर्न खोजिरहेको देखियो । शक्तिशाली व्यक्तिहरू भने खुलेआम अभद्र भाषण गर्दै हिंडिरहेका छन्, त्यसमा भने राज्य चुप छ ।’

उनका अनुसार मृतक र घाइते युवाका परिवारले खोजिरहेको सत्यको छानबिन, न्याय र समान व्यवहार बिना जनताको विश्वास पुनःस्थापित हुन सक्दैन । विश्वास नफर्केपछि लोकतान्त्रिक निर्वाचनको वातावरण बन्न नै नसक्ने चेतावनी गुरुङले दिएका छन् । गृहमन्त्रीप्रति बेलाबेला आक्रोश व्यक्त गर्ने गुरुङले भनेका छन्, ‘न्याय बिना जनताको विश्वास बिर्सिएको मुलुकमा निष्पक्ष निर्वाचनको कुरा गर्नु केवल औपचारिकता मात्र हुनेछ।’

 

सुदन गुरुङको आग्रह : बालेन, रवि, हर्क, कुलमान, सुमना, सागर एक ठाउँ आउनुस्

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले युवा पुस्तालाई एकजुट बनाएर देश परिवर्तनको अभियान थाल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सात वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजीको एकजुटता पूरा भइसकेको छ । अब हामी चाहन्छौँ अन्य सबै नेपाली पनि यो नेपाल परिवर्तन अभियानमा जोडिउन् । हाम्रो देशलाई एउटा वैकल्पिक नागरिक शक्ति चाहिन्छ । पार्टीप्रेमी होइन, देशप्रेमी नेपाली एकजुट हुनुपर्छ ।’

उनले छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई जोड्ने डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने बताएका छन् । अब अभियानको दोस्रो चरण सुरु हुने र जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिलाई एउटै मञ्चमा ल्याउने उनको योजना छ । हामी नेपालका संयोजक समेत रहेका गुरुङले सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललाई समेत सँगै उभिन आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी सबै नेपालीको एउटै चाहना छ–तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस् ।’उनले यो अभियान गोरखा मन्दिरबाटै सुरु गर्ने घोषणा गरेका छन् । ‘जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट आशीर्वाद लिएर हामी यो अभियान थाल्दै छौं । राष्ट्रको हित र आगामी पुस्ताको भविष्यका लागि ।’

हेर्नुस् गुरुङको फेसबुक स्टाटस

 

निर्वाचन आयोग पुगेर सुदनको चेतावनी : हाम्रो माग पूरा नभएसम्म कसैले चुनाव–चुनाव भन्न पाइँदैन

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । मतदाता नामावली संकलनबारे बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका उनले जेनजी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताए । आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने पनि उनले बताएका छन् ।

‘दल दर्ताको कुरा चाहिँ म आफै छक्क परिराको हुन्छु । कहिले कुलमानजीको पार्टीमा भन्छ, अर्को स्क्रोल गर्‍यो बालेनकोमा गयो रे भन्छ । फेरि सुमनामा गयो रे भन्नु हुन्छ । हाम्रो कुरा चाहिँ–हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं ह्वीच इज क्लियर ! जेनजीको माग पूरा नभएसम्म कसैले पनि चुनाव–चुनाव भन्न पाइँदैन । ८४ को चुनाव सार्नलाई हामी लडेको होइन ।’

गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा आफूसँग कानूनी सल्लाहकार भएर जाँदा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको सुधनको भनाइ छ । जनताको चाहना र इच्छाअनुसार गृहमन्त्री फेरिनु पर्ने जरुरी रहेको उनको भनाइ छ । निर्वाचनको तयारीबारे बुझ्न र आफ्ना कुरा सुनाउन गुरुङ समर्थित जेनजी प्रतिनिधिहरूको एक टोली आज कान्तिपथस्थित आयोगको कार्यालय पुगेको हो । टोलीमा रवीन्द्र बानियाँ, अनिल बानियाँलगायत २५ जना सहभागी रहेको बताइएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उनीहरूले चुनावको तयारी लगायतका विषयमा चासो राखेका छन् । त्यसक्रममा गुरुङले आयोगले ढिलासुस्ती गरेको भन्दै चर्को असन्तुष्टि जनाएको बताइएको छ । हिमाली जिल्लामा नामावली संकलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन पनि उनले माग गरे ।

जवाफमा कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसप्रति ध्यानाकर्षण भएको बताउँदै सम्भव भएसम्म माग पूरा गर्ने प्रतिवद्धता जनाएको बताइन्छ । जेन–जीको माग सम्बोधन नभएसम्म चुनाव गर्न नदिने गुरुङको चेतावनी रहँदै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेकोमा सरकारसँग उनी रुष्ट छन् । यसैलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका गुरुङले आज पनि अर्याल नेकपा एमालेको नेता जस्तो हुँदै गएको टिप्पणी गरे ।

सुदन गुरुङको आरोप : गृहमन्त्री एमालेको जस्ताे लाग्न थाल्याे, माग पूरा नभए चुनाव असम्भव

काठमाडौं । जेनजी आन्दोलनका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि तीव्र प्रहार गरेका छन् । एकातिर सरकारले नेपाल स्काउटको जग्गा संरक्षणका नाममा संरचना हटाउने अभियान चलाउँदा, अर्कातिर आन्दोलनकारीका मागहरू बेवास्ता गरिएको भन्दै गुरुङले गृहमन्त्रीमाथि सीधा आरोप लगाएका हुन् ।

गुरुङले भने, ‘गृहमन्त्री अर्याल अहिले एमाले जस्तो लाग्न थालेका छन् । उहाँ हाम्रो आन्दोलनको बीचमा संविधानविद् भएर उपस्थित थिए, तर अहिले आएर चुनाव–चुनाव मात्रै भन्न थालेका छन् ।’ नेपाल स्काउटको जग्गामा बिहीबार बिहान भएको संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै उपस्थित भएका गुरुङले गृहमन्त्रीलाई कठोर चेतावनी पनि दिए । उनले जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म देशमा निर्वाचन हुनै नदिने चेतावनी दिए ।

‘हाम्रो एजेन्डा चुनाव होइन, न्याय र व्यवस्था परिवर्तन हो’, गुरुङले भने, ‘माग पूरा नभई कसरी चुनाव हुन्छ ? यो सबको जिम्मा गृहमन्त्री अर्यालले लिनुपर्छ । उहाँ जंगी अड्डादेखि शीतल निवाससम्म वार्तामा उपस्थित हुनुहुन्थ्यो । अहिले आएर ढाँट्ने कुरा गर्नुभयो भने हामीलाई यो ठुलो धोका हुनेछ ।’ गुरुङले गृहमन्त्रीले जेनजी कार्यकर्तामाथि दमन गरिरहेको तर राजनीतिक दलका व्यक्तिहरूलाई नछोएको आरोप समेत लगाए । उनले भने, ‘उहाँले जेनजीहरूलाई समातिराख्नु भएको छ, तर राजनीतिक नेताहरूलाई केही भन्न सक्नु हुन्न । मलाई त कहिलेकहिले लाग्छ-गृहमन्त्री ज्यू एमालेकै मान्छे हुन् कि ?’

उनका अनुसार जेनजी आन्दोलनले वडास्तरसम्म संरचना विस्तार गरिसकेको छ र नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छ । ‘हामी दुई महिनादेखि संयमित छौं, तर अब नयाँ योजना ल्याउनेछौं’, उनले भने, ‘यदि मागहरू पूरा भएनन् भने गृहमन्त्रीलाई चैन मिल्ने छैन, चुनाव असम्भव हुनेछ ।’ गुरुङको यस्तो चेतावनीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारभित्र फेरि राजनीतिक तनाव चुलिएको संकेत गरेको छ । एकातिर सरकार निर्वाचन तयारीमा व्यस्त छ भने अर्कातिर जेनजी आन्दोलनले ‘न्याय बिना चुनाव हुँदैन’ भन्ने अडान कडा पार्दैछ ।

 

सुदन गुरुङको प्रश्न : जेन–जीका माग पूरा नभइकन कसरी हुन्छ निर्वाचन ?

काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।

उनले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूरा हुनुपर्ने बताए । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भए पनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।

उनले भने, ‘समग्र हामी जेन–जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई पनि बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबै कुरा गृहमन्त्री ज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनु भएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नु हुन्छ ।’ आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनु भएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ ।

सुदन गुरुङको नागरिकता छानविन गर्न सरकारलाई युवा संघको ‘अल्टिमेटम’

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङको नागरिकताको सत्य–असत्य छानबिन गर्न सरकारलाई एक हप्ते ‘अल्टिमेटम’ दिएको छ । शनिबार बसेको संघको पदाधिकारी बैठकले सरकारलाई तोकिएको समय सीमाभित्र छानबिनको नतिजा सार्वजनिक गर्न आग्रह गर्दै चेतावनी दिएको हो ।

बैठकपछि संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुदन गुरुङको नागरिकता सक्कली हो कि नक्कली भन्ने विषयमा सरकारले छानबिन गरी एक हप्ताभित्र वास्तविकता सार्वजनिक गर्नुपर्छ । यदि सरकारले मौनता अपनायो भने युवासंघ स्वयं उनलाई खोजी गरी प्रहरीमार्फत कानुनी प्रक्रियामा ल्याउनेछ ।’

गुरुङ पछिल्लो समय जेनजी आन्दोलनका अभियान्ताका रूपमा चर्चामा छन् । उनले गत भदौ २३ गते भएको आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कानुनी कारबाहीको माग गर्दै आएका थिए ।

१. ओलीको घर पुनर्निर्माण अभियान
बैठकले हालैको जेनजी आन्दोलनका कारण क्षति पुगेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर पुनर्निर्माण अभियान तेह्रथुमको आठराईबाट सुरु गर्ने निर्णय गरेको छ । प्रवक्ता पौडेलका अनुसार यो अभियान पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीकका रूपमा अघि बढाइनेछ ।

२. ‘जेनजी’ आन्दोलनका अराजक गतिविधिविरुद्ध कारबाही
बैठकले आन्दोलनको नाममा देश जलाउने, राज्य सम्पत्ति नष्ट गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पौडेलले भने, ‘जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानूनी कठघरामा ल्याइनेछ, तर राष्ट्र निर्माणका भावनायुक्त युवाहरुलाई सहकार्यमा ल्याइनेछ ।’

३. संगठन पुनर्संरचना र आगामी अभियान
बैठकमा संगठनको पुनर्संरचना, सदस्य विस्तार र आगामी युवा अभियानहरूबारे पनि छलफल भएको थियो । यस निर्णयले एमालेको संगठनात्मक सक्रियता र सडक राजनीतिमा नयाँ गतिशीलता ल्याउने दावी गरिएको छ । बैठक संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा भएको थियो ।

म एजेन्ट होइन, बदनाम गर्न खोजिंदैछ : सुदन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले आफू कुनै पनि ‘एजेन्ट’ नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा गुरुङले आफ्नोबारे फैलाइएका अफवाहहरूको खण्डन गरेका हुन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आफूमाथि भइरहेका निराधार आरोपहरूको प्रतिवाद गरे । गुरुङले आफूलाई कहिले भारतीय त कहिले भुटानी एजेन्टका रूपमा चित्रण गर्ने प्रयास भइरहेकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘सुदन एजेन्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै ।’

आफूविरुद्धका यस्ता अफवाहहरूलाई गुरुङले गलत राजनीतिक प्रवृत्तिको उपज भएको बताए । उनले थपे, ‘पहिले राजनीति बुझ्थिनँ, तर अब बुझ्दैछु । संविधान पनि पढ्दैछु ।’ उनले अब संविधानको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउन आफू सक्रिय रहने बताए । जेनजी आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेको संकेत गर्दै गुरुङले भने, ‘उनीहरूले बनाएको संविधान पढ्दैछु । त्यसलाई टेकेर हामी अघि बढ्छौं । उनीहरूले सिकाएको पाठ हामी सिक्छौँ । नियम र कानुन अनुसार अघि बढाउने हो ।’

विधि र कानुनअनुसार काम गर्न केही समय लाग्ने स्वीकार्दै उनले धैर्य धारण गर्न सबैलाई आग्रह गरे । ‘समय लाग्छ । अलिकति धैर्य राख्नुपर्छ । हामी सबै मिलेर अघि बढौँ,’ गुरुङले भने । काममा ढिलाइ हुनुको कारणबारे स्पष्ट पार्दै गुरुङले भने, ‘८० वर्षसम्म बिगारेको छ । धेरै भद्रगोल बनाइएको छ । भित्र खोक्रो छ । यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ ।’

 

जेनजी सातै प्रदेश संयोजकको कडा सन्देश : ‘म्याण्डेट मिच्याैं भने सडकमा फर्किन्छौं’

काठमाडौं । जेन–जी आन्दोलनको अग्रपंक्तिमा रहेका सुदन गुरुङ पक्षीय सातै प्रदेश संयोजकहरूले सुशीला कार्की नेतृत्वको सरकारलाई शर्तसहित समर्थन जनाएको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरुको समर्थन अन्धो समर्थन नभएको स्पष्ट पार्दै भनेका छन्, ‘म्याण्डेट भन्दा बाहिर गए खबरदारी र प्रतिकार दुबै हुनेछ ।’।

विद्रोहको जगमा सरकार, त्यसैको सीमाभित्र रहन चेतावनी

संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘जेन–जी विद्रोहले निर्माण गरेको राजनीतिक जगमा सुशीला कार्कीको सरकार बनेको हो । त्यसैले सरकार सकारात्मक काममा सधैं साथ पाउनेछ, तर त्यो म्याण्डेट मिचिएमा हामी फेरि सडकमा फर्किनेछौं ।’
राजनीतिक नियुक्ति खारेज गर, सिण्डिकेट तोड

सातै प्रदेशका संयोजकहरूले पुराना दलहरूद्वारा गरिएको सबै राजनीतिक नियुक्तिहरू तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरुले राज्य संस्थामा देखिएको दलीय सिण्डिकेट अन्त्य, सुशासन र जवाफदेही शासन स्थापनाका लागि राजनीतिक प्रभाव हटाउन माग गरेका छन् । यस्तै शहीदका निम्ति न्याय, दमनका लागि जाँचबुझ आयोगको माग गरेका छन् । ‘राज्यद्वारा आन्दोलनमा गरिएको दमन, हत्या र ज्यादतीको निष्पक्ष छानबिन होस्’ भन्दै उनीहरूले ‘छानबिनको प्रतिवेदन सार्वजनिक र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

‘संविधान विरोधी होइनौं, सुधारको पक्षमा छौं’

उनीहरूले आफूहरूलाई संविधान र लोकतन्त्र विरोधी भन्नु भ्रामक भएको बताएका छन् । ‘संविधानमा भएका त्रुटिहरूलाई सच्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउन हामी अग्रसर छौं ।’

‘एकता बिना विकल्प छैन’
‘जेन–जी विद्रोहलाई अपराधीकरण गर्न खोज्ने स्वार्थ समूहहरू सक्रिय छन्’, भन्दै उनीहरूले देशभरका जेन–जीहरूबीच समन्वय, सहकार्य र एकता अपरिहार्य भएको बताएका छन् ।

विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा
‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता रक्षा सम्पूर्ण नेपाली युवाको साझा राजनीतिक कार्यभार हो’, भन्दै उनीहरूले सरकार, मिडिया, नागरिक समाज र सरोकारवालालाई जिम्मेवार भूमिका खेल्न अपिल गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने संयोजकहरूः
कोशी–उपार्जुन चाम्लिङ (संयोजक), लक्ष्मी घिमिरे (सहसंयोजक)
मधेश–शिव यादव
बागमती–अफ्साना बानु
गण्डकी–प्रदीप पाण्डे
लुम्बिनी–आदित्य आचार्य
कर्णाली–सुप्रिया शाही
सुदूरपश्चिम–खेमराज साउद

हाम्रो नाममा आपराधिक गतिविधिहरु भड्काइँदै छ : सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको टिप्पणी गरेका छन् ।उनले त्यस्तो कार्य गर्नेले कानुन बमोजिम कारबाही भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।  उनले कुनै पनि हिंसात्मक कार्यमा संलग्न नहुन र हुन पनि नदिन आग्रह पनि गरेका छन् ।

‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नु पर्नेछ । हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ । त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ । हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन ।’ उनले लेखेका छन्, ‘अब जनता जागिसकेका छन् । हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

सुदन गुरुङ : ‘हाइज्याक’ कि नेतृत्व ?

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेन जेड आन्दोलन’ अहिले सुदन गुरुङको नामसँग जोडिएको छ । आन्दोलनको सुरुवातमा नेतृत्वमा नदेखिएका सुदन अहिले प्रधानमन्त्री छान्ने तहसम्मको निर्णय प्रक्रियामा प्रभावशाली देखिँदैछन् । शपथदेखि संविधान दिवससम्मका सबै राजकीय गतिविधिमा क्यामरा सुदनतिरै केन्द्रित देखिन्छ ।

सुदन गुरुङ २०७२ को भूकम्पपछि सामाजिक काममा होमिएका थिए । डीजे पेसाबाट उदाएका उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी विशेषतः कोभिडमा मानवीय सहायतामा सक्रियता देखाए । आन्दोलन सुरु हुँदा उनी स्वयंसेवकका रूपमा मात्र थिए ।

माइतीघरमा भएको प्रदर्शनका लागि अनुमति सबल गौतम र पुरुषोत्तम यादवले लिएका थिए । ‘नेता कोही छैन’ भन्ने सहमतिसहित सुरु भएको आन्दोलनमा सुदनले आफ्नै संस्थाको ज्याकेटमा अग्रपंक्तिमा देखा परेपछि उनीमाथि ‘हाइज्याक’ को आरोप लाग्न थाल्यो ।

भदौ २३ को आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भयो । त्यसपछि सेना सक्रिय बन्यो । २४ गते रातिदेखि सेनाले ‘हामी नेपाल’ सँग समन्वय सुरु ग¥यो । सुदनले आफ्नो नेटवर्क प्रयोग गरेर सेना र संकटग्रस्त स्थानबीच सूचना प्रवाहको पुल बने । त्यसपछि सुदन क्रमशः वार्ताकार र आन्दोलनको ‘अनौपचारिक नेता’ बने ।

२५ गतेदेखि उनले अन्तरिम सरकार, संसद् विघटन, संविधान संशोधनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न थाले । आन्दोलनका सुरुवाती अगुवाहरूले सुदनको पारदर्शिता, आक्रामक अभिव्यक्ति शैली र एकल निर्णय प्रक्रियाप्रति आलोचना गरे पनि उनका कामको प्रभावलाई स्वीकार गरेका छन् ।

जेन जेड अभियन्ता तनुजा पाण्डे भन्छिन्, ‘हाइज्याक होइन । सुदनले जेन जेडका माग नसुनिने खतरा भएको बेला अगाडि बढेर काम गरे । तर पारदर्शिताको कमी समस्या हो ।’ अर्का अभियन्ता मिराज ढुंगाना र पुरुषोत्तम यादव पनि सुदनले राम्रो काम गरेकाले क्रेडिट पाउनु पर्ने धारणा राख्छन् ।

विवाद र आलोचनाबीच पनि सुदन अहिले आन्दोलनको अनुहार बनेका छन् । उनी नेतृत्वमा कसरी आए ? नियोजित थिए कि परिस्थितिले तानिए ? यसको जवाफ अझै खुल्दैछ । तर एक कुरा स्पष्ट छ– सुदन यो आन्दोलनको उत्पत्ति होइनन्, तर अहिलेको अनुहार अवश्य हुन् ।

सुदन गुरुङले भने–जनताले चाहे प्रधानमन्त्री बन्छु

काठमाडौं । जेन–जी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा जनताले चाहे आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका हुन् । रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिएका उनले देश र जनताले जिम्मेवारी दिए पछि नहट्ने बताउँदै पुराना राजनीतिक दलका नेताहरूलाई उनीहरूले गरेका अपराधको छानबिन गरी चुनावमा भाग लिनबाटै रोक्नु पर्नेमा जोड दिए ।

अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा गुरुङले नेपालमा ४८ घण्टाभन्दा कम समयमा जेन–जी प्रदर्शनकारीहरूले सरकार ढालेको बताउँदै भने, ‘हामी अब पछि हट्ने छैनौं । अन्त्यसम्म लड्नेछौं,’ उनले भने ।

गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरुको रगत लागेको भेस्ट देखाउँदै, यो रगत न्यायको प्रतीक भएको सुनाए । ‘यो मारिएका बच्चाहरूको रगत हो,’ उनले भने, ‘जबसम्म हामीले न्याय पाउँदैनौं र हाम्रो देश परिवर्तन भएको महसुस गर्दैनौं, तबसम्म यो भेस्ट नधुने हामीले वाचा गरेका छौं ।’

उनले आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकारलाई दोष दिएका छन् । ‘हामीले हिंसा रोजेका होइनौं । पहिलो गोली सरकारको तर्फबाट चलाइएको थियो,’ गुरुङले भने, ‘हाम्रो सरकारले भविष्यको रक्षा गर्नुको सट्टा हामीलाई नै मार्‍यो ।’

उनले थप सुनाए, ‘यदि जनताले मलाई रोज्छन् भने, म निश्चित रूपमा प्रधानमन्त्रीको लागि चुनाव लड्नेछु ।’ उनले यो पद नभई जनताले दिएको जिम्मेवारी भएको बताए । ‘यो एउटा आन्दोलन हो । मैले यो गर्नैपर्छ । मसँग अरू विकल्प छैन । मैले मेरो देश बचाउनु छ,’ उनले भनेका छन् ।

उनले आगामी चुनावमा पुराना दलहरूलाई सहभागी हुन नदिन उनीहरूले गरेका अपराधको छानबिन प्रक्रियालाई तीव्रता दिने चेतावनी दिए । चुनावमा पुराना दलले जितेमा त्यसलाई स्वीकार नगर्ने र पुनः आन्दोलन गर्ने उनको भनाइ थियो। ‘कुनै पनि सच्चा नेपालीले उनीहरूलाई फिर्ता चाहँदैनन्,’ उनले भने, ‘हामी उनीहरूलाई जेलमा देख्न चाहन्छौं ।’

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले छिमेकी बदल्न नसकिने यथार्थ स्वीकार्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘हामी सार्वभौम राष्ट्र हौं। यदि त्यो सम्मान हामीलाई दिइन्छ भने, हामी पनि छिमेकीलाई सम्मान गर्नेछौं । तर हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन,’ उनले भने ।

सुदन गुरुङको चेतावनी : देश र मेरीबीचमा नपर्नुस् गाह्रो पर्ला

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताउँदै देश र आफ्नो बीचमा कोही परे गाह्रोपर्ने चेतावनी दिएका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन् । गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनु परेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन् ।

‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ’, उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है ।…गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन–मेरो बाटोभन्दा टाढा बस्नू ।’

गुरुङ अहिले मन्त्रिपरिषद्मा राम्रा–राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन् । उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो– तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ ।’

हेर्नुस् सुदन गुरुङको पूरा सन्देश “

अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भए जस्तो लाग्छ मलाई । मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या । हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई । कस्तो हाँसो उठिसक्यो मलाई । कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्‍यै गर्ने ? त्यति साह्रो फलो त के भन्ने ?

यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन । फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्‍यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफै गर्नुपर्‍यो, हैन, आफ्नो प्रोटेक्सन त आफै गर्नुपर्‍यो । मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है । मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी । बरु कहाँ आउनु पर्छ, भन्नु, म आउँला । यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्‍यो सोच्या होला । मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन ।

यो कुरा चाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू । यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो, तपाईंहरूलाई । मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ । अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्‍या छैन भन्ने सोच्नु होला । गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू । मेरो बाटो अवरोध गर्न नखोज्नूस् । म प्रयास गरिरहेको छु–तपाईंहरूको सबैको भविष्य राम्रो होस् ।

मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानु भाछ । कति राम्रा निर्णयहरू भएका छन् । सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो । मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने । कहिले कता फलो गर्ने । बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु । अरुलाई धम्काए जस्तो सोच्नु होला । मलाई धम्क्याउन गाह्रो छ । तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नु होला । जति जना तपाईंले ट्राई गरिरहनु भएको छ । मेरो देश र मेरो बीचमा आउन खोज्नु भयो भने तपाईंहरूलाई गाह्रो पर्छ ।

भिडिओ

शीतलनिवास ‘सेलिब्रेट’ का लागि गएको होइन : सुदन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू ‘सेलिब्रेट’ का लागि नगएको बताएका छन् । आज (शनिबार) उनले भिडिओ वक्तव्य जारी गर्दै सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन समेत जेनजीहरूलाई आग्रह गरेका छन् ।

‘हामी आफैले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नु पर्छ,’ गुरुङले भनेका छन्, ‘सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ । म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’

गुरुङ संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ राजनीतिक दलका नेताहरू पनि सहभागी थिए । नेताहरुलाई त्यहाँ बोलाइएको र उनीहरूले ठाडो शीर नपारुन् भनेर आफू त्यहाँ गएको उनको भनाइ छ ।

‘नेताहरु सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो,’ गुुरुङले भनेका छन्, ‘त्यहाँ म एउटा नेतासँग पनि बसिनँ । एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ । म उभिएरै बसें । पानीमा रुझेर बसेको हुँ ।’

राष्ट्रपति निवासको आफूले पानी समेत नखाएको बताएका छन् । ‘चिया खाम भनेको थियो, मैले चिया खाँदिनँ भने,’ गुरुङले भनेका छन्, ‘पानी खादिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन । यिनीहरू (नेताहरू) शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो ।’

आफूले नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको र यसरी नचल्ने बताएको गुरुङको भनाइ छ । यस्तै राष्ट्रपति र संविधान नै नरहँदा देश नै अप्ठ्यारोमा पर्ने भन्दै आफूले त्यो विषयमा अडान नलिएको समेत उनले बताएका छन् । आफूमा कुनै लोभ नभएको र आफूले व्यक्तिगतरुपमा केही पनि नमागेको गुरुङले दाबी गरेका छन्।

 

सुदन गुरुङमाथि लखेटी–लखेटी आक्रमण प्रयास

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले आफूलाई लेखेटेको उनले जनाएका छन् । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको बताइएको छ । ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे । यता बानेश्वरसम्मै लखेटे । ती को थिए भन्ने चाहिँ चिनिनँ । मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भने । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाएनन् ।

‘मलाई अहिले फलो गरिरहेको छ । बाइक थियो । बाइक नम्बर नै थाहा भएन । अर्को एउटा गाडी छ,’ उनले भने । उनले सबै सुरक्षा निकायलाई जानकारी गराइसकेको बताएका छन् । यद्यपि प्रहरीले यसबारे कुनै जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले गुरूङले यसबारे जानकारी नगराएको बताए । ‘उहाँले आक्रमण भयो भनेर सार्वजनिक गर्नु भएको रहेछ । हामीलाई जानकारी गराउनु भएको छैन । हामी बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

 

सुदन गुरुङ समूहद्वारा मध्यराति प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका हुन् । जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । सुदनले प्रधानमन्त्रीले कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन् ।

गत शुक्रबार सुदन समूहकै प्रस्तावमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । उनले आइतबार ओमप्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् । सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

शहीद परिवारले प्रधानमन्त्री भेट्न नपाएपछि मध्यरात बालुवाटारमै धर्ना
जेनजी आन्दोलनका शहीद परिवारले आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धताबमोजिम आफूहरुको माग पूरा नगरेको र दिनभर कुराएर भेट नदिइ बालुवाटारबाट निकालेको भन्दै आक्रोशित उनीहरुले प्रम निवासको गेटमा राति धर्ना दिएका हुन् ।

आफूहरुलाई वेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको उनीहरुको आरोप छ । धर्नामा जेनजी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले शहीद परिवारको कुरा बालुवाटारभित्र पुर्‍याउने प्रयास गरे पनि सम्भव भएन ।

शहीद परिवारका सदस्यले पाँच माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्ने, उनीहरुको राजकीय अन्त्येष्टि र शव यात्रा गर्नुपर्ने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बीमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने । तेस्रो अब बन्ने विभिन्न समितिहरुमा शहीद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन् । चौथोमा विमानस्थलमा फोटोहरु राखेर शहीदप्रति सम्मान दिनुपर्ने र पाँचौ माग शालिकसहित एउटा शहीद पार्क बनाइदिनुपर्ने छ ।

प्रधानमन्त्री कार्कीले शनिबार शहीद परिवारसँगको भेटमा मागहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार ८ बजे नै बालुवाटार पुगेका शहीद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन्। राति १० बजेपछि सेनाले उनीहरुलाई बाहिर निकालेपछि आक्रोशित बनेका उनीहरुले गेटमा धर्ना दिएका हुन् ।

ढुक्क हुनुस्, मलाई कसैले कैदी बनाइएको छैन : मिराज ढुङ्गाना

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले आफू सुरक्षित रहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश पोस्ट गर्दै उनले आफूलाई कसैले कैद नगरेको जानकारी गराएका छन् । मिराजले जेन–जी आन्दोलनको सुरुवाती नेतृत्व गरेका थिए । तर आन्दोलन हिंसात्मक बनेसँगै उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।

जेनजीको आन्दोलनले सत्ता परिवर्तन गरिंसक्दा समेत उनी नदेखिएपछि सामाजिक सञ्जालहरुमा उनको खोजी भइरहेको थियो । अहिले सुदन गुरुङलगायतले जेन–जीको नेता आफूहरू रहेको दाबी गरेका छन् । गुरुङ त प्रधानसेनापति र राष्ट्रपतिसँग समेत वार्तामा बसेका थिए । तर, गुरुङले आन्दोलनको नेता तथा आयोजक आफू नभई स्वयम्सेवकका रूपमा मात्रै सडकमा आएको बताएको भिडियो सार्वजनिक भइसकेको छ ।

यता जेन–जी आन्दोलनका वास्तविक नेता मिराज कहीँकतै नदेखिएपछि उनको अवस्थाबारे व्यापक रूपमा चासो र चिन्ता प्रकट भएको थियो । उनलाई सार्वजनिक गर्न सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका दिन मिराज सार्वजनिक हुँदै भिडियो सन्देश पोस्ट गरेका हुन् ।

आइतबार बिहान टिकटकबाट भिडियो सन्देश दिँदै मिराजले देशमा ठूलो परिवर्तन भएको बताएका छन् । उनले आफूहरूको आन्दोलनले धेरै राम्रो भएको र केही नराम्रो पनि भएको टिप्पणी गरेका छन् । ‘मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। म एकदम सेफ छु । हामी ठूलो चेन्जबाट चाहिँ गुज्रेका छौँ । धेरै राम्रो पनि भएको छ । कति कुरा नराम्रो पनि भएको छ । ठीक छ, अब जे हुनु भयो । हामीले अन्तरिम सरकार ल्यायौँ र यो एकदम खुशीको कुरा हो । मलाई कसैले त्यो कैदी बनाएको यताउती त्यस्तो केही पनि छैन । तपाईंहरू ढुक्क हुनुस् है,’ मिराजले भनेका छन् ।