सुदन गुरुङले भने–जनताले चाहे प्रधानमन्त्री बन्छु


काठमाडौं । जेन–जी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा जनताले चाहे आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका हुन् । रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिएका उनले देश र जनताले जिम्मेवारी दिए पछि नहट्ने बताउँदै पुराना राजनीतिक दलका नेताहरूलाई उनीहरूले गरेका अपराधको छानबिन गरी चुनावमा भाग लिनबाटै रोक्नु पर्नेमा जोड दिए ।
अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा गुरुङले नेपालमा ४८ घण्टाभन्दा कम समयमा जेन–जी प्रदर्शनकारीहरूले सरकार ढालेको बताउँदै भने, ‘हामी अब पछि हट्ने छैनौं । अन्त्यसम्म लड्नेछौं,’ उनले भने ।
गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरुको रगत लागेको भेस्ट देखाउँदै, यो रगत न्यायको प्रतीक भएको सुनाए । ‘यो मारिएका बच्चाहरूको रगत हो,’ उनले भने, ‘जबसम्म हामीले न्याय पाउँदैनौं र हाम्रो देश परिवर्तन भएको महसुस गर्दैनौं, तबसम्म यो भेस्ट नधुने हामीले वाचा गरेका छौं ।’
उनले आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकारलाई दोष दिएका छन् । ‘हामीले हिंसा रोजेका होइनौं । पहिलो गोली सरकारको तर्फबाट चलाइएको थियो,’ गुरुङले भने, ‘हाम्रो सरकारले भविष्यको रक्षा गर्नुको सट्टा हामीलाई नै मार्यो ।’
उनले थप सुनाए, ‘यदि जनताले मलाई रोज्छन् भने, म निश्चित रूपमा प्रधानमन्त्रीको लागि चुनाव लड्नेछु ।’ उनले यो पद नभई जनताले दिएको जिम्मेवारी भएको बताए । ‘यो एउटा आन्दोलन हो । मैले यो गर्नैपर्छ । मसँग अरू विकल्प छैन । मैले मेरो देश बचाउनु छ,’ उनले भनेका छन् ।
उनले आगामी चुनावमा पुराना दलहरूलाई सहभागी हुन नदिन उनीहरूले गरेका अपराधको छानबिन प्रक्रियालाई तीव्रता दिने चेतावनी दिए । चुनावमा पुराना दलले जितेमा त्यसलाई स्वीकार नगर्ने र पुनः आन्दोलन गर्ने उनको भनाइ थियो। ‘कुनै पनि सच्चा नेपालीले उनीहरूलाई फिर्ता चाहँदैनन्,’ उनले भने, ‘हामी उनीहरूलाई जेलमा देख्न चाहन्छौं ।’
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले छिमेकी बदल्न नसकिने यथार्थ स्वीकार्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘हामी सार्वभौम राष्ट्र हौं। यदि त्यो सम्मान हामीलाई दिइन्छ भने, हामी पनि छिमेकीलाई सम्मान गर्नेछौं । तर हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन,’ उनले भने ।