सुदन गुरुङ : ‘हाइज्याक’ कि नेतृत्व ?


काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेन जेड आन्दोलन’ अहिले सुदन गुरुङको नामसँग जोडिएको छ । आन्दोलनको सुरुवातमा नेतृत्वमा नदेखिएका सुदन अहिले प्रधानमन्त्री छान्ने तहसम्मको निर्णय प्रक्रियामा प्रभावशाली देखिँदैछन् । शपथदेखि संविधान दिवससम्मका सबै राजकीय गतिविधिमा क्यामरा सुदनतिरै केन्द्रित देखिन्छ ।
सुदन गुरुङ २०७२ को भूकम्पपछि सामाजिक काममा होमिएका थिए । डीजे पेसाबाट उदाएका उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी विशेषतः कोभिडमा मानवीय सहायतामा सक्रियता देखाए । आन्दोलन सुरु हुँदा उनी स्वयंसेवकका रूपमा मात्र थिए ।
माइतीघरमा भएको प्रदर्शनका लागि अनुमति सबल गौतम र पुरुषोत्तम यादवले लिएका थिए । ‘नेता कोही छैन’ भन्ने सहमतिसहित सुरु भएको आन्दोलनमा सुदनले आफ्नै संस्थाको ज्याकेटमा अग्रपंक्तिमा देखा परेपछि उनीमाथि ‘हाइज्याक’ को आरोप लाग्न थाल्यो ।
भदौ २३ को आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भयो । त्यसपछि सेना सक्रिय बन्यो । २४ गते रातिदेखि सेनाले ‘हामी नेपाल’ सँग समन्वय सुरु ग¥यो । सुदनले आफ्नो नेटवर्क प्रयोग गरेर सेना र संकटग्रस्त स्थानबीच सूचना प्रवाहको पुल बने । त्यसपछि सुदन क्रमशः वार्ताकार र आन्दोलनको ‘अनौपचारिक नेता’ बने ।
२५ गतेदेखि उनले अन्तरिम सरकार, संसद् विघटन, संविधान संशोधनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न थाले । आन्दोलनका सुरुवाती अगुवाहरूले सुदनको पारदर्शिता, आक्रामक अभिव्यक्ति शैली र एकल निर्णय प्रक्रियाप्रति आलोचना गरे पनि उनका कामको प्रभावलाई स्वीकार गरेका छन् ।
जेन जेड अभियन्ता तनुजा पाण्डे भन्छिन्, ‘हाइज्याक होइन । सुदनले जेन जेडका माग नसुनिने खतरा भएको बेला अगाडि बढेर काम गरे । तर पारदर्शिताको कमी समस्या हो ।’ अर्का अभियन्ता मिराज ढुंगाना र पुरुषोत्तम यादव पनि सुदनले राम्रो काम गरेकाले क्रेडिट पाउनु पर्ने धारणा राख्छन् ।
विवाद र आलोचनाबीच पनि सुदन अहिले आन्दोलनको अनुहार बनेका छन् । उनी नेतृत्वमा कसरी आए ? नियोजित थिए कि परिस्थितिले तानिए ? यसको जवाफ अझै खुल्दैछ । तर एक कुरा स्पष्ट छ– सुदन यो आन्दोलनको उत्पत्ति होइनन्, तर अहिलेको अनुहार अवश्य हुन् ।