सुदन गुरुङको नागरिकता छानविन गर्न सरकारलाई युवा संघको ‘अल्टिमेटम’
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङको नागरिकताको सत्य–असत्य छानबिन गर्न सरकारलाई एक हप्ते ‘अल्टिमेटम’ दिएको छ । शनिबार बसेको संघको पदाधिकारी बैठकले सरकारलाई तोकिएको समय सीमाभित्र छानबिनको नतिजा सार्वजनिक गर्न आग्रह गर्दै चेतावनी दिएको हो ।
बैठकपछि संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुदन गुरुङको नागरिकता सक्कली हो कि नक्कली भन्ने विषयमा सरकारले छानबिन गरी एक हप्ताभित्र वास्तविकता सार्वजनिक गर्नुपर्छ । यदि सरकारले मौनता अपनायो भने युवासंघ स्वयं उनलाई खोजी गरी प्रहरीमार्फत कानुनी प्रक्रियामा ल्याउनेछ ।’
गुरुङ पछिल्लो समय जेनजी आन्दोलनका अभियान्ताका रूपमा चर्चामा छन् । उनले गत भदौ २३ गते भएको आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कानुनी कारबाहीको माग गर्दै आएका थिए ।
१. ओलीको घर पुनर्निर्माण अभियान
बैठकले हालैको जेनजी आन्दोलनका कारण क्षति पुगेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर पुनर्निर्माण अभियान तेह्रथुमको आठराईबाट सुरु गर्ने निर्णय गरेको छ । प्रवक्ता पौडेलका अनुसार यो अभियान पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीकका रूपमा अघि बढाइनेछ ।
२. ‘जेनजी’ आन्दोलनका अराजक गतिविधिविरुद्ध कारबाही
बैठकले आन्दोलनको नाममा देश जलाउने, राज्य सम्पत्ति नष्ट गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पौडेलले भने, ‘जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानूनी कठघरामा ल्याइनेछ, तर राष्ट्र निर्माणका भावनायुक्त युवाहरुलाई सहकार्यमा ल्याइनेछ ।’
३. संगठन पुनर्संरचना र आगामी अभियान
बैठकमा संगठनको पुनर्संरचना, सदस्य विस्तार र आगामी युवा अभियानहरूबारे पनि छलफल भएको थियो । यस निर्णयले एमालेको संगठनात्मक सक्रियता र सडक राजनीतिमा नयाँ गतिशीलता ल्याउने दावी गरिएको छ । बैठक संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा भएको थियो ।
