सुदन गुरुङमाथि लखेटी–लखेटी आक्रमण प्रयास


काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले आफूलाई लेखेटेको उनले जनाएका छन् । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको बताइएको छ । ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे । यता बानेश्वरसम्मै लखेटे । ती को थिए भन्ने चाहिँ चिनिनँ । मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भने । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाएनन् ।
‘मलाई अहिले फलो गरिरहेको छ । बाइक थियो । बाइक नम्बर नै थाहा भएन । अर्को एउटा गाडी छ,’ उनले भने । उनले सबै सुरक्षा निकायलाई जानकारी गराइसकेको बताएका छन् । यद्यपि प्रहरीले यसबारे कुनै जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले गुरूङले यसबारे जानकारी नगराएको बताए । ‘उहाँले आक्रमण भयो भनेर सार्वजनिक गर्नु भएको रहेछ । हामीलाई जानकारी गराउनु भएको छैन । हामी बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।