म एजेन्ट होइन, बदनाम गर्न खोजिंदैछ : सुदन गुरुङ
काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले आफू कुनै पनि ‘एजेन्ट’ नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा गुरुङले आफ्नोबारे फैलाइएका अफवाहहरूको खण्डन गरेका हुन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आफूमाथि भइरहेका निराधार आरोपहरूको प्रतिवाद गरे । गुरुङले आफूलाई कहिले भारतीय त कहिले भुटानी एजेन्टका रूपमा चित्रण गर्ने प्रयास भइरहेकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘सुदन एजेन्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै ।’
आफूविरुद्धका यस्ता अफवाहहरूलाई गुरुङले गलत राजनीतिक प्रवृत्तिको उपज भएको बताए । उनले थपे, ‘पहिले राजनीति बुझ्थिनँ, तर अब बुझ्दैछु । संविधान पनि पढ्दैछु ।’ उनले अब संविधानको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउन आफू सक्रिय रहने बताए । जेनजी आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेको संकेत गर्दै गुरुङले भने, ‘उनीहरूले बनाएको संविधान पढ्दैछु । त्यसलाई टेकेर हामी अघि बढ्छौं । उनीहरूले सिकाएको पाठ हामी सिक्छौँ । नियम र कानुन अनुसार अघि बढाउने हो ।’
विधि र कानुनअनुसार काम गर्न केही समय लाग्ने स्वीकार्दै उनले धैर्य धारण गर्न सबैलाई आग्रह गरे । ‘समय लाग्छ । अलिकति धैर्य राख्नुपर्छ । हामी सबै मिलेर अघि बढौँ,’ गुरुङले भने । काममा ढिलाइ हुनुको कारणबारे स्पष्ट पार्दै गुरुङले भने, ‘८० वर्षसम्म बिगारेको छ । धेरै भद्रगोल बनाइएको छ । भित्र खोक्रो छ । यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ ।’
