`

मिराज नेतृत्वको जेनजीले भेट्न पाएनन् प्रधानमन्त्री, गेटमा पत्र टाँसेर फर्किए

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूह प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि दक्षिण गेटमै माग पत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी थियो । ढुंगानाको समूहले सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि गर्न थालेको, आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका जनाएका थिए ।

हाल सरकारमा रहेकाहरुले जेनजी आन्दोलनको मर्मविपरीतका गतिविधि गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले यसअघि बताएका थिए । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै तीन जेनजी समूहले विज्ञप्ति जारी गरेका थिए । तर ,प्रधानमन्त्री सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई अनावश्यक रूपमा जोडेको प्रष्टीकरण दिएको छ ।

सिंहदरबारमा जेनजी समूहबीच नै भनाभन
यता सिंहदरबारमा जेनजी–जेनजी समूहबीच नै भनाभन भएको छ । प्रधानमन्त्रीलाई भेट्न सोमबार (मंसिर ८) सिंहदरबार पुगेका जेनजी समूहबीच आपसमै भनाभन भएको हो । ’कर्णाली जेनजी’ संयोजक सुप्रिया राज्यलक्ष्मी शाही र ‘द काउन्सिल अफ जेनजी’ (सुधन गुरुङ) समूहबीच भनाभना भएको हो ।

शाहीले सरकारलाई हातमा लिन खोज्ने सुधन, रक्षा बम र ओजस्वीराज थापा को हुन् ? भन्दै प्रश्न गरेकी छन् । शाही समूहले सुधन, रक्षालगायतका ‘जेनजी’ घाइते, मृतकका परिवारलाई छोडेर सरकारमा लिप्त भएको बताएकी छन् । उक्त समूहले आफूहरूलाई विभिन्न समूहले आक्रमण गर्न खोजेको भन्दै प्रधानमन्त्रीलाई भेट्न समय माग गरेको छ ।

 

 

मिराज ढुङ्गानामाथि दुर्व्यवहार

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानामाथि दुर्व्यवहार भएको छ । आफूलाई ‘जेन–जी अभियन्ता’ भन्ने देव थापाले ढुङ्गानामाथि हातपात प्रयास गरेका हुन् । नक्सालस्थित आफ्नो कार्यालयमै आएर थापाले हुलहुज्जत गरेको ढुंगानाले जानकारी दिएका छन् ।

ढुङ्गानाले आफ्नो राजनीतिक अभियान सञ्चालनका लागि खोलेको कार्यालयमा थापा आज साँझ मास्क लगाएर पुगेको जनाएका छन् । उनीसँग थिए जेन–जी अभियानमा संलग्न डा. जगत डिसी । थापाले ढुङ्गानालाई ठाडो–ठाडो कुरा गर्दै विभिन्न धाकधम्की समेत दिएको जनाइएको छ । सुधन गुरुङसँग किन मिल्न गएको भन्दै उनले मिराजलाई थर्काएका थिए ।

मिराजले भने, ‘उनी पहिले सुधन गुरुङको टिमबाट निकालिएका रहेछन् । मलाई बिना कारण आएर थर्काए । गालीगलौज र दुर्व्यवहार गरे ।’ थापालाई आफूले पहिले कहिले पनि नभेटेको र ऋषि धमलाको अन्तर्वार्तामा देखेको उनले बताएका छन् ।

हिजो धमलाले थापासहित तीन जनालाई जेनजी आन्दोलनको विषयमा अन्तर्वार्ताका लागि ल्याएका थिए । अन्तर्वार्तामा थापा मास्क लगाएरै बसेका थिए । धमलाले पटक–पटक मास्क खोल्न आग्रह गर्दा पनि उनले मानेनन् । सरकारको असंवेदनशीलताको विरुद्धमा मुख छोपेर हिँडेको उनले बताएका थिए ।

छायाँमा परेका ‘जेनजी’ अभियन्ता मिराज ढुङ्गानाले भेटे प्रधानमन्त्री

काठमाडौं । ‘जेनजी’ आन्दोलन ‘हाइज्याक’ भएको टिकाटिप्पणी चलिरहेका बेला सुरुताका अभियानमा सक्रिय मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका हुन् । सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टिकरण दिएका थिए ।

जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति लिनेहरुमध्येमा मिराज पनि एक थिए । तर, आन्दोलन र सरकार निर्माणमा उनी नदेखिएपछि उनको खोजी शुरु भएको थियो । ढुङ्गाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ ।

अन्तर्वार्ताका क्रममा उनले त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहेको बताएका छन् । उनको फुलको व्यवसाय गर्छन् । आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर बाहिरिएका थिए । सैनिक हेड क्वार्टरदेखि शीतल निवाससम्म गुरुङकै चहलपहल चल्यो र सरकार निर्माणमा पनि उनकै हात रह्यो । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुङ्गाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ । ढुङ्गाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेटेका हुन् ।

ढुक्क हुनुस्, मलाई कसैले कैदी बनाइएको छैन : मिराज ढुङ्गाना

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले आफू सुरक्षित रहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश पोस्ट गर्दै उनले आफूलाई कसैले कैद नगरेको जानकारी गराएका छन् । मिराजले जेन–जी आन्दोलनको सुरुवाती नेतृत्व गरेका थिए । तर आन्दोलन हिंसात्मक बनेसँगै उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।

जेनजीको आन्दोलनले सत्ता परिवर्तन गरिंसक्दा समेत उनी नदेखिएपछि सामाजिक सञ्जालहरुमा उनको खोजी भइरहेको थियो । अहिले सुदन गुरुङलगायतले जेन–जीको नेता आफूहरू रहेको दाबी गरेका छन् । गुरुङ त प्रधानसेनापति र राष्ट्रपतिसँग समेत वार्तामा बसेका थिए । तर, गुरुङले आन्दोलनको नेता तथा आयोजक आफू नभई स्वयम्सेवकका रूपमा मात्रै सडकमा आएको बताएको भिडियो सार्वजनिक भइसकेको छ ।

यता जेन–जी आन्दोलनका वास्तविक नेता मिराज कहीँकतै नदेखिएपछि उनको अवस्थाबारे व्यापक रूपमा चासो र चिन्ता प्रकट भएको थियो । उनलाई सार्वजनिक गर्न सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका दिन मिराज सार्वजनिक हुँदै भिडियो सन्देश पोस्ट गरेका हुन् ।

आइतबार बिहान टिकटकबाट भिडियो सन्देश दिँदै मिराजले देशमा ठूलो परिवर्तन भएको बताएका छन् । उनले आफूहरूको आन्दोलनले धेरै राम्रो भएको र केही नराम्रो पनि भएको टिप्पणी गरेका छन् । ‘मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। म एकदम सेफ छु । हामी ठूलो चेन्जबाट चाहिँ गुज्रेका छौँ । धेरै राम्रो पनि भएको छ । कति कुरा नराम्रो पनि भएको छ । ठीक छ, अब जे हुनु भयो । हामीले अन्तरिम सरकार ल्यायौँ र यो एकदम खुशीको कुरा हो । मलाई कसैले त्यो कैदी बनाएको यताउती त्यस्तो केही पनि छैन । तपाईंहरू ढुक्क हुनुस् है,’ मिराजले भनेका छन् ।