ढुक्क हुनुस्, मलाई कसैले कैदी बनाइएको छैन : मिराज ढुङ्गाना


काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले आफू सुरक्षित रहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश पोस्ट गर्दै उनले आफूलाई कसैले कैद नगरेको जानकारी गराएका छन् । मिराजले जेन–जी आन्दोलनको सुरुवाती नेतृत्व गरेका थिए । तर आन्दोलन हिंसात्मक बनेसँगै उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।
जेनजीको आन्दोलनले सत्ता परिवर्तन गरिंसक्दा समेत उनी नदेखिएपछि सामाजिक सञ्जालहरुमा उनको खोजी भइरहेको थियो । अहिले सुदन गुरुङलगायतले जेन–जीको नेता आफूहरू रहेको दाबी गरेका छन् । गुरुङ त प्रधानसेनापति र राष्ट्रपतिसँग समेत वार्तामा बसेका थिए । तर, गुरुङले आन्दोलनको नेता तथा आयोजक आफू नभई स्वयम्सेवकका रूपमा मात्रै सडकमा आएको बताएको भिडियो सार्वजनिक भइसकेको छ ।
यता जेन–जी आन्दोलनका वास्तविक नेता मिराज कहीँकतै नदेखिएपछि उनको अवस्थाबारे व्यापक रूपमा चासो र चिन्ता प्रकट भएको थियो । उनलाई सार्वजनिक गर्न सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका दिन मिराज सार्वजनिक हुँदै भिडियो सन्देश पोस्ट गरेका हुन् ।
आइतबार बिहान टिकटकबाट भिडियो सन्देश दिँदै मिराजले देशमा ठूलो परिवर्तन भएको बताएका छन् । उनले आफूहरूको आन्दोलनले धेरै राम्रो भएको र केही नराम्रो पनि भएको टिप्पणी गरेका छन् । ‘मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। म एकदम सेफ छु । हामी ठूलो चेन्जबाट चाहिँ गुज्रेका छौँ । धेरै राम्रो पनि भएको छ । कति कुरा नराम्रो पनि भएको छ । ठीक छ, अब जे हुनु भयो । हामीले अन्तरिम सरकार ल्यायौँ र यो एकदम खुशीको कुरा हो । मलाई कसैले त्यो कैदी बनाएको यताउती त्यस्तो केही पनि छैन । तपाईंहरू ढुक्क हुनुस् है,’ मिराजले भनेका छन् ।