रबि लामिछाने भेटेपछि गृहमन्त्रीमाथि खनिए सुदन : कि त काम गर, नत्र कुर्सी छोड
काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी अभियन्ता सुदन गुरुङले सहकारी ठगी प्रकरणमा ललितपुरस्थित नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न गएको उनको भनाइ छ । भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले जानकारी दिएका छन् ।
‘उहाँ राम्रो काम गर्छु भनेर अगाडि आउनु भएको मान्छे हो । तर, देशमा राम्रो गरिरहेको मान्छेलाई फसाउनु पर्छ भनेर केही शक्ति लागिरहेका छन्’, बिहीबार रविलाई भेटेपछि उनले भने । भेटका क्रममा लामिछानेले जेनजीलाई खुलेरै समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए । लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि दोहोर्याएका छन् । उनले गृहमन्त्रीलाई काम गरेर देखाउन वा पद त्याग्न चेतावनी दिएका छन् । ‘गृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौं–कि त काम गर, कि त कुर्सी छोड’, उनले भने ।
