`

अमेरिकी ‘एच–वान बी’ भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

Nepal One HD ५ असोज २०८२ ७:५८
प्रमुख खबर

काठमाडौं । भारतले अमेरिकी दक्ष कामदार भिसा एच–१ बीका निम्ति आवेदन दिनेहरूलाई लाग्ने नयाँ एक लाख डलर शुल्कले जटिल मानवीय परिणाम ल्याउने चेतावनी दिएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त शुल्कले ‘परिवारहरूमा उत्पन्न हुने व्यवधानका कारण’ गम्भीर मानवीय परिणाम ल्याउने जनाएको हो । भारत सरकारले यी व्यवधानलाई अमेरिकी अधिकारीले उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसा आवेदनका निम्ति नयाँ शुल्क लगाउने कार्यकारी आदेश शुक्रबार जारी गरेका थिए । यो शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हो । यही सेप्टेम्बर २१ देखि यो कार्यान्वयनमा ल्याइनेछ । यो कार्यक्रमअन्तर्गत जारी हुने दक्ष भिसामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय कामदारले प्राप्त गर्ने गरेका छन् । केही अमेरिकी प्रविधि कम्पनीले आफ्ना एच–१बी भिसा भएका कर्मचारीलाई अमेरिकाभित्रै बस्न वा विदेशमा भए तुरुन्त फर्कन सल्लाह दिएका जनाइएको छ ।

यद्यपि, शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हालका भिसा वा नवीकरण आवेदनमा लागु नहुने स्पष्ट पारेको थियो । विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदानले दुवै राष्ट्रलाई ‘अत्यधिक योगदान’ पु¥याएको उल्लेख छ । ट्रम्पले गएको महिना रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच तनावपूर्ण व्यापार वार्ता चलिरहेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१.५ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो । भारतबाट दोब्बरभन्दा बढी अर्थात् ८७.३ अर्ब डलर बराबरको सामान आयात गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *