`

प्रचण्ड लगतै आरजु पनि उडिन् दिल्ली

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्ला दिनहरूमा नेपाली राजनीतिक व्यक्तित्वहरूको आवत–जावतले चर्चा पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन् भने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन् ।

प्रवासी नेपालीहरूसँग संवाद र ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आइतबार दिल्ली पुगेका थिए । उनले आज दिउँसो कार्यक्रमलाई सम्बोधन गरेका छन् । भ्रमणका क्रममा प्रचण्डले आइतबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेका थिए । त्यसपछि सोमबार बिहान पनि भारतीय सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल भएको जनाइएको छ । तय कार्यक्रम अनुसार प्रचण्ड आज साँझ नेपाल फर्किने छन् ।

यहीबीच, कांग्रेस नेतृ डा. आरजु राणा देउवा सोमबार दिउँसो करिब सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेकी छन् । सुरक्षा स्रोतले उनको दिल्ली यात्रा पुष्टि गरेको छ । भ्रमणको औपचारिक उद्देश्य सार्वजनिक नगरिए पनि कांग्रेस स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि भारत गएकी हुन् । आरजुले यसअघि पनि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराउँदै आएको बताइएको छ । यद्यपि, उनको भ्रमणका क्रममा सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट हुन सक्ने अनुमान समेत गरिएको छ ।

दिल्ली यात्राको शृङ्खला यतिमै सीमित छैन । यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी उपचारका लागि दिल्ली गएका थिए । त्यसैगरी, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए, जहाँ उनले भारतीय सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए । लगातार भइरहेका यी भ्रमणहरूले नेपाल–भारत राजनीतिक संवाद, स्वास्थ्य उपचार र कूटनीतिक सम्पर्कहरू एकसाथ अघि बढिरहेको संकेत गरेका छन् ।

 

 

भारतमा पुटिनको सम्मानमा झोल मोमोदेखि जाफरानी पनिर रोलसम्म

भारत । भारतको राष्ट्रपति भवनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्मानमा आयोजित विशेष राज्य–भोजमा भारतीय सांस्कृतिक विविधता झल्किने परिकारहरूको आकर्षक ‘थाली–शैली’ प्रस्तुत गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको यस भव्य डिनरमा भारतका विभिन्न राज्यको पाक–संस्कृतिलाई एउटै थालीमा समेटिएको थियो ।

सुपदेखि लिएर मिठाईसम्म, हरेक परिकारले भारतीय स्वादको समृद्धि र विविधतालाई उजागर गरेको थियो । रात्रिभोजको सुरुवात मुरुंगेलै चारूबाट गरियोएको थियो । जुन सहजन (ड्रमस्टिक) का पात र मूंग दाल मिसाएर बनाइने हल्का तर पौष्टिक सूप हो । यसमा करी पातका बीउले पारम्पारिक दक्षिण भारतीय स्पर्श दिइएको थियो ।

तीन परिकारमध्ये पहिलो थियो गुच्ची दून चेटिन । कश्मीरमा पाइने दुर्लभ मोरल मसरूमलाई अखरोटको विशेष चटनीसँग तयार गरिएको यो व्यञ्जनले हिमाली स्वादको अनौठो अनुभूति दिलायो । दोस्रो कालो चनाको सिकम्पुरी थियो ।

प्यानमा सेकिएको मुलायम चनाको कबाबलाई पुदिनाको चटनी र मिठो शिरमल रोटी (ब्रेड) पस्किएको थियो । जसले उत्तर भारतीय स्वादलाई सँगसँगै प्रस्तुत गर्‍यो। तेस्रो भेटिटेबल झोल मोमो थियो । जसलाई मसालेदार टमाटरको ‘झोल’ सँग बनाइएको थियो । यसले भारतीय र नेपाली–पहाडी स्वादको रमाइलो मिश्रण प्रस्तुत गरेको थियो ।

परिवारले फरक जातका प्रेमीको हत्या गरेपछि युवतीले गरिन् शवसँग बिहे

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटना नान्देडको इतवारा क्षेत्रको हो । जहाँ आँचल नामकी युवतीले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गर्थिन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्‍यो । परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो ।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको चाल पाए तब उनका दाजुभाइ र बुबाले बिहीबार टेटलाई भेटघाटका लागि भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र अन्त्यमा टाउको ढुंगाले किच्दै मारे । यसपछि सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरको बेला आँचल उनको घर पुगिन् ।

उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन् । त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन् । यसपछि हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे ।’

उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ ।’ यसैबीच प्रहरीले हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूमा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।

भारतले भन्यो–टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता गरिँदैन

काठमाडौं । भारतले टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता नगर्ने बताएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता नगर्ने बताएका हुन् ।

जर्मनीमा एक कार्यक्रमका क्रममा पियुष गोयलले यस्तो बताएका हुन् । ‘हामी अमेरिकासँग कुरा गरिरहेका छौं र हामी हतारमा सम्झौता गर्दैनौं। हामी समयसीमा वा टाउकोमा बन्दुक राखेर सम्झौता गर्दैनौं,’ उनले भने ।

केन्द्रीय मन्त्रीले भने, ‘भारतले दीर्घकालीन रूपमा सोच्दछ । भारतले कहिल्यै हतारमा वा परिस्थितिको दबाबमा निर्णय लिँदैन। हामीले स्वीकार गरेका छौं कि यदि हामीमाथि कुनै शुल्क लगाइएको छ भने, हामी यसलाई वरिपरि प्राप्त गर्ने तरिकाहरू खोजिरहेका छौं ।’

‘हामी नयाँ बजारहरू हेरिरहेका छौं । हामी भारतीय अर्थतन्त्रमा मागलाई अझ बलियो बनाउने कुरा हेरिरहेका छौं । हामीसँग धेरै बलियो पूर्वाधार छ, १.४ अर्ब मानिसहरू छन्,’ उनले भने । पियुष गोयलले भने, ‘हामीलाई थाहा छ कि अबको २०–२५ वर्षमा हामी ३० ट्रिलियन डलरको अर्थतन्त्र हुनेछौं र हामी यसैको आधारमा वार्ता गर्नेछौं । भविष्यलाई ध्यानमा राखेर हामीले हाम्रो देशको लागि उत्तम सम्झौता गर्नुपर्छ ।’

ट्रम्प प्रशासनले भारतबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा थप २५ प्रतिशत भन्सार कर लगाएको छ । पहिले यो भन्सार २५ प्रतिशत थियो । यसको अर्थ भारतमा हाल कुल भन्सार कर ५० प्रतिशत छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बढेको करलाई भारतले रूसबाट तेल र हतियार खरिद गरेकोमा ‘सजाय’ को रूपमा वर्णन गरेका छन् । भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भन्यो, ‘यो कार्य अनुचित, अनुचित र तर्कहीन छ ।’

दिल्लीमा पहिलो पटक ‘क्लाउड सिडिङ’ परीक्षण, कृत्रिम वर्षाको तयारी

काठमाडौं । भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् ।

नयाँदिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, “आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।” उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । तीन करोडभन्दा बढी जनसंख्या भएको नयाँदिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ ।

रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २।५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्रसंघको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो ।

बिहीबार बिहान मात्र नयाँदिल्लीका केही क्षेत्रमा ए स् २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ ।

कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ । रासस

 

भीम रावलको प्रश्न : ६ महिने चुनावी सरकारले दीर्घकालीन सम्झौता गर्न मिल्छ ?

काठमाडौं । पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता सरकारले स्वीकृत गरेपछि प्रश्न उठाएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि यसको औचित्यमाथि शंका गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत भएको खबर छ । के हो ? ६ महिने चुनावी सरकारले दीर्घकालीन प्रकृतिका सम्झौता गर्न मिल्छ र ? सम्झौतामा नेपालले विमति जनाउँदै आएको एक देशका कानुन व्यवसायीले अर्को देशका अदालतमा बहस पैरवी गर्न पाउने प्रावधान छ कि हट्यो ?’

बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतबिच पारस्परिक कानुनी सहायता सन्धि स्वीकृत गरेको थियो । सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार अन्य मुलुकसँग फौजदारी मामिलामा सहायता सन्धिका लागि वार्ता र कूटनीतिक प्रस्ताव पठाउन स्वीकृति पनि दिइएको छ ।

यस्तो छ नेता रावलको प्रश्न :
नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत भएको खबर छ । के हो ? ६ महिने चुनावी सरकारले दीर्घकालीन प्रकृतिका सम्झौता गर्न मिल्छ र ? सम्झौतामा नेपालले विमति जनाउँदै आएको एक देशका कानुन व्यवसायीले अर्को देशका अदालतमा बहस पैरवी गर्न पाउने प्रावधान छ कि हट्यो ?

भारतले काबुल मिसनलाई पूर्ण दूतावासमा उन्नत गर्दै, तालिबानसँगको सम्बन्ध अझ गहिरिने संकेत

भारत । भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने संकेत गरेको छ ।  भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार नयाँदिल्लीमा अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटपछि यो घोषणा गरेका हुन् । सन् २०२१ मा अमेरिकाको दुई दशक लामो सैन्य उपस्थितिपछि तालिबानले सत्ता कब्जा गरेयता भारत र अफगानिस्तानबीचको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हो ।
विदेशमन्त्री जयशङ्करले अफगानिस्तानको विकासका लागि भारतको निरन्तर प्रतिबद्धता दोहो¥याउँदै व्यापार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिए । उनले भने, ‘हामीबीचको घनिष्ठ सहकार्यले तपाईंको राष्ट्रिय विकास मात्र होइन, सम्पूर्ण क्षेत्रको स्थिरता र सहनशीलतालाई पनि बल पुर्‍याउनेछ ।’
संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूचीमा रहेका अफगान तालिबान नेतामध्ये एक मुत्ताकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को समितिबाट अस्थायी यात्रा अनुमति पाएपछि बिहीबार नयाँदिल्ली आइपुगेका थिए । यो भ्रमण रुसमा आयोजित अफगानिस्तानसम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा सहभागी भएपछि भएको हो । उक्त बैठकमा चीन, भारत, पाकिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरू उपस्थित थिए ।
भारत र तालिबानबीचको यो कूटनीतिक नजिकिँदो सम्बन्ध विगतको वैरभावलाई पछाडि पार्दै आएको हो । तालिबान अन्तर्राष्ट्रिय मान्यता खोज्दै गर्दा भारतले अफगानिस्तानमा चीन र पाकिस्तानको प्रभाव सन्तुलन गर्ने रणनीतिक अवसर देखेको छ । विदेश सचिव विक्रम मिस्रीले यसअघि जनवरीमा दुबईमा मुत्ताकीसँग भेट गर्नुभएको थियो । त्यसपछि मुत्ताकी र जयशङ्करबीच टेलिफोन वार्ता भएको थियो । साथै, भारतका अफगानिस्तानसम्बन्धी विशेष दूतले अप्रिलमा काबुल पुगेर राजनीतिक तथा व्यापारिक सहकार्यबारे छलफल गरेका थिए ।
विश्लेषकहरूका अनुसार तालिबानसँग उच्चस्तरीय सम्पर्क राख्ने भारतको निर्णय यसको कूटनीतिक पुनर्मूल्याङ्कन हो, जसले चीन र पाकिस्तानसँगको क्षेत्रीय प्रतिस्पर्धामा भारतलाई पछाडि पर्न नदिने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्टीका अनुसार भारतले विश्वलाई चीन र पाकिस्तानसँगको प्रतिस्पर्धाको दृष्टिकोणबाट हेर्छ । प्रतिस्पर्धी राष्ट्रहसँग पनि सम्बन्ध कायम राख्ने प्रयासमा रहेको तालिबानले अपनाएको सन्तुलित विदेश नीति भारतको आफ्नै रणनीतिक सोचसँग मिल्दोजुल्दो छ ।
हाल अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सीमा विवाद र शरणार्थी समस्या जस्ता कारणले तनावपूर्ण बनेको छ । यस्तो अवस्थामा भारतको बढ्दो संलग्नतालाई पाकिस्तानको प्रभावविरुद्धको ‘रणनीतिक सन्तुलन’ का रूपमा हेरिएको छ । साथै, भारतले पूर्वाधार विकास र कूटनीतिक उपस्थिति विस्तार गरेर अफगानिस्तानमा चीनको प्रभुत्व घटाउने प्रयास गरिरहेको छ । डोन्टीले भने, ‘बेइजिङले तालिबानसँग घनिष्ठ सम्बन्ध बढाइरहेको बेला नयाँदिल्लीले काबुलमा आफ्नो रणनीतिक प्रभाव सुदृढ पार्ने अवसर देखेको छ । इस्लामाबादसँगको बिग्रँदो सम्बन्धका कारण भारतले काबुलमा सामान्य प्रभाव स्थापना गरेर क्षेत्रीय शक्तिका रूपमा आफ्नो स्थिति मजबुत बनाउन खोजेको हो ।’
सन् २०२१ मा तालिबानले सत्ता सम्हालेपछि भारतमा यसले पाकिस्तानलाई फाइदा पुर्‍याउनेछ र काश्मीरमा जारी विद्रोहलाई थप बल दिनेछ भन्ने चिन्ता थियो । तर नयाँदिल्लीले यी आशङ्काबीच पनि तालिबानसँग स्थिर सम्पर्क कायम राख्यो । सन् २०२२ मा भारतले मानवीय सहायता र विकास सहयोगमा केन्द्रित हुँदै काबुलमा प्राविधिक मिसन स्थापना गरेको थियो । त्यसयता, क्षेत्रीय फोरम र ब्याक–च्यानल कूटनीतिबाट संवादलाई निरन्तरता दिँदै आएको छ । भारतले अफगान विद्यार्थी र व्यापारीसहित दशौँ हजार अफगान नागरिकलाई आश्रय दिएको छ, जसमध्ये धेरैज ना तालिबान शासनपछि देश छोडेका थिए । नयाँदिल्लीमा रहेको अफगान दूतावास सन् २०२३ नोभेम्बरमा स्थायी रूपमा बन्द भएको थियो, तर मुम्बई र हैदराबादका वाणिज्य दूतावासहरू सीमित सेवा प्रदान गर्दै सञ्चालनमा छन् ।
तालिबानले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय संवाद विस्तार गरेको छ र चीन तथा संयुक्त अरब इमिरेट्स जस्ता केही देशसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भएको छ । यसैबीच जुलाईमा रुस तालिबानलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट हटाउँदै आधिकारिक मान्यता दिने पहिलो देश बनेको थियो । यद्यपि, मुख्यतया महिलामाथि लगाइएका कठोर प्रतिबन्ध र मानवअधिकार उल्लङ्घनका कारण तालिबान शासन अझै पनि अन्तर्राष्ट्रिय रूपमा अलग रहँदै आएको छ । भारतको यो कदमले काबुलसँगको सम्बन्धमा नयाँ अध्याय आरम्भ गरेको छ, जसले क्षेत्रीय शक्ति सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने विश्लेषकहरूको मूल्याङ्कन छ । रासस /एपी

दिल्लीमा प्रहरीको गोलीबाट ढले नेपालका ‘भीम जोरा’

नयाँदिल्ली । भारतीय भूमिमा आतंकको पर्याय बनेका नेपाली नागरिक भीम जोराको जीवन सोमबार राति दिल्लीको आस्थाकुञ्ज पार्कमा प्रहरीको गोलीसँगै समाप्त भएको छ । हत्या, डकैती र संगठित चोरी जस्ता गम्भीर आपराधिक मुद्दामा संलग्न जोरा भारतभर कुख्यात नाम बनिसकेका थिए ।

दिल्ली र गुडगाउँ प्रहरीको संयुक्त कारबाहीमा मारिएका जोरा विरुद्ध एक लाख भारु पुरस्कार घोषणा गरिएको थियो, जुन आफैंमा उनको अपराधको गम्भीरताका लागि पर्याप्त संकेत हो ।

धेरै अनुहार, एक अपराधी
भीम जोरा नेपालका नागरिक भए पनि भारतका सूरत, कर्नाटक, दिल्ली, गाजियाबाद लगायत शहरहरूमा शक्तिशाली गिरोहको नेतृत्व गर्दै आएका थिए । नक्कली कागजपत्रको प्रयोग गरेर घरेलु कामदार बनेर घरभित्र छिर्ने, मालिकहरूलाई नशालु पदार्थ दिएर बेहोस बनाउने, लुटपाट गरेर नेपाल फर्किने रणनीति उनका प्रमुख थिए ।

उनको गिरोह डकैतीअघि घरको विस्तृत जानकारी संकलन गर्न आफ्नो मान्छेहरूलाई नै कामदारका रूपमा पठाउने गथ्र्यो । यस्तो गिरोह सञ्चालनका कारण भारतभर नेपाली श्रमिकहरूकै छवि बदनाम हुने खतरा समेत देखिएको छ ।

डा. योगेशचन्द्र पौलको हत्यामा जोरा
भीम जोराविरुद्धको सबैभन्दा गम्भीर अभियोग भने मे २०२४ मा दिल्लीको जांगपुरामा डाक्टर योगेशचन्द्र पौलको हत्या हो । घरेलु कामदार बसन्तीमार्फत लिएको सूचनाको आधारमा डाक्टरलाई भान्सामै घाँटी अँठ्याएर हत्या गरिएको थियो । त्यसपछि उनी आफ्नी कथित श्रीमती वर्षासँग फरार भएका थिए । यस घटनापछि भारतीय प्रहरीको ‘वाञ्छित अपराधी’ सूचीमा उनको नाम शीर्षमा पुगेको थियो ।

इन्काउन्टरको अन्त्य

सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीको संयुक्त टोलीले आस्थाकुञ्ज पार्क क्षेत्रमा जोरा लुकेको सूचना पाएपछि घेराबन्दी ग¥यो । प्रहरीले दाबी गरेअनुसार, जोराले पहिलो गोली चलाए । जवाफमा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भए । उनलाई तत्काल एम्स ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको घोषणा गरियो । उनका एक सहयोगी भने अन्धकारको आडमा भाग्न सफल भएका छन् ।

१३ बर्षीय अफगान बालक जहाजको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

नयाँदिल्ली । एक १३ वर्षीय बालक जहाज (प्लेन) को ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन् । आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ । अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो । बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो ।

अवतरणपछि एयरलाइनका कर्मचारीहरुले फ्लाइटनजिक एक बालिक घुमिरहेको देखे । तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले हिरासतमा लिए र प्रहरीलाई सुम्पिए । भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिए । नाम र विवरण नखुलाइएका ती बालक अफगानिस्थानको कुन्दुज शहरका हुन् ।

काबुल एयरपोर्टमा प्रवेश गरेका ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको इन्दिरा गान्धी एयरपोर्टका अधिकारीहरुले बताएका छन् । विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरिएको थियो । आइतबार नै ती बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ ।

सुरक्षा जाँचमा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर फेला परेको छ । जसलाई ती बालकलाई आफ्नो साथमा ल्याएका थिए । सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ । ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ । र अक्सिजन पनि निकै कम हुन्छ । जसकारण केही क्षणमै बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना बढ्छ ।

यद्यपि यस घटनामा ती बालक कसरी जिउँदै भारतसम्म पुगे भन्नेबारे विमानस्थलका सुरक्षा एजेन्सी पनि अचम्मित छन् । किनकि ल्यान्डिङ कम्पार्टमेन्ट विमानको सबैभन्दा मुनि हुन्छ । यसमा सुरक्षा उपकरण, ब्रेक सिस्टम र हाइड्रोलिक पाइप हुन्छन् । एक अध्ययनअनुसार यो तरिकाले लुक्ने प्रयासमा जीवित रहने दर निकै कम हुन्छ । विश्वभरमा यसरी लुकेर यात्रा गर्नेमध्ये २० प्रतिशत मात्र जीवित बचेका छन् ।

अफगानिस्तानमा १५ अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कैयौं मानिस देश छोड्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा घुसपैठ गरेका थिए । अफगानी नागरिक कुनै पनि तरिकाले देश छाडेर बाहिर निस्कन खोज्दै थिए । अमेरिकाले आफ्ना नागरिक र सेनालाई फिर्ता बोलाउनका लागि सैनिक विमान पठाएको थियो । त्यसबेला सैयौं अफगान नागरिक अमेरिका जानका लागि अमेरिकन सैनिक विमानमा सवार भएका थिए । केही नागरिक जहाजमा झुन्डिएका समेत थिए । सोही क्रममा आकाशमा जहाजबाट खसेर कैयौंले ज्यान समेत गुमाए ।

 

अमेरिकी ‘एच–वान बी’ भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

काठमाडौं । भारतले अमेरिकी दक्ष कामदार भिसा एच–१ बीका निम्ति आवेदन दिनेहरूलाई लाग्ने नयाँ एक लाख डलर शुल्कले जटिल मानवीय परिणाम ल्याउने चेतावनी दिएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त शुल्कले ‘परिवारहरूमा उत्पन्न हुने व्यवधानका कारण’ गम्भीर मानवीय परिणाम ल्याउने जनाएको हो । भारत सरकारले यी व्यवधानलाई अमेरिकी अधिकारीले उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसा आवेदनका निम्ति नयाँ शुल्क लगाउने कार्यकारी आदेश शुक्रबार जारी गरेका थिए । यो शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हो । यही सेप्टेम्बर २१ देखि यो कार्यान्वयनमा ल्याइनेछ । यो कार्यक्रमअन्तर्गत जारी हुने दक्ष भिसामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय कामदारले प्राप्त गर्ने गरेका छन् । केही अमेरिकी प्रविधि कम्पनीले आफ्ना एच–१बी भिसा भएका कर्मचारीलाई अमेरिकाभित्रै बस्न वा विदेशमा भए तुरुन्त फर्कन सल्लाह दिएका जनाइएको छ ।

यद्यपि, शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हालका भिसा वा नवीकरण आवेदनमा लागु नहुने स्पष्ट पारेको थियो । विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदानले दुवै राष्ट्रलाई ‘अत्यधिक योगदान’ पु¥याएको उल्लेख छ । ट्रम्पले गएको महिना रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच तनावपूर्ण व्यापार वार्ता चलिरहेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१.५ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो । भारतबाट दोब्बरभन्दा बढी अर्थात् ८७.३ अर्ब डलर बराबरको सामान आयात गरेको थियो ।

नेपालको अवस्थाबारे भारतले आफ्ना नागरिकका लागि जारी गर्‍यो ‘एडभाइजरी’

काठमाडौं । भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था सुधारको क्रममा रहे पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ । काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो ।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ । सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’ ‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ ।’ भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत हुन नआएको भन्दै तत्कालीन ओली सरकारले भदौ १९ गते फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । यसको ४ दिनपछि अर्थात् भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी (२८ वर्षमुनिको पुस्ता) ले काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको थियो ।

दुई दिनको जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । कैयौं घाइते अझै अस्पतालमा छन् । सार्वजनिक तथा निजी सम्पत्तिको क्षति ठूलो छ ।

यस क्रममा आन्दोलनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई घरभित्रै पसेर कुटपिट गरे ।

जेनजी आन्दोलनका कारण कांग्रेस–एमालेको गठबन्धन सरकार ढलेपछि मुलुकमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ भने नयाँ सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् (प्रतिनिधि सभा) विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेका छन् ।

गौरीफण्टा नाकाबाट नेपालीलाई भारत जान रोक, आउन कडा चेकजाँच

कैलाली । भारतीय प्रहरीले गौरीफण्टा नाकाबाट नेपालीहरूलाई भारत जान रोक लगाएको छ । नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले नेपालीहरूले भारत रोकेको हो ।

भारतीय नागरिक र रासन कार्ड भएकाहरू भारत गइरहेका छन् । आउनेहरूलाई समेत कडा चेकजाँचपछि मात्र भित्रिन दिइएको छ ।

नेपालमा विकसित घटनाक्रम नजिकबाट नियालिरहेका छौं : भारत

काठमाडौं । छिमेकी देश भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ । भारतले काठमाडौंसहित अन्य शहरमा कफ्र्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।