१३ बर्षीय अफगान बालक जहाजको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे


नयाँदिल्ली । एक १३ वर्षीय बालक जहाज (प्लेन) को ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन् । आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ । अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो । बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो ।
अवतरणपछि एयरलाइनका कर्मचारीहरुले फ्लाइटनजिक एक बालिक घुमिरहेको देखे । तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले हिरासतमा लिए र प्रहरीलाई सुम्पिए । भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिए । नाम र विवरण नखुलाइएका ती बालक अफगानिस्थानको कुन्दुज शहरका हुन् ।
काबुल एयरपोर्टमा प्रवेश गरेका ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको इन्दिरा गान्धी एयरपोर्टका अधिकारीहरुले बताएका छन् । विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरिएको थियो । आइतबार नै ती बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ ।
सुरक्षा जाँचमा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर फेला परेको छ । जसलाई ती बालकलाई आफ्नो साथमा ल्याएका थिए । सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ । ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ । र अक्सिजन पनि निकै कम हुन्छ । जसकारण केही क्षणमै बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना बढ्छ ।
यद्यपि यस घटनामा ती बालक कसरी जिउँदै भारतसम्म पुगे भन्नेबारे विमानस्थलका सुरक्षा एजेन्सी पनि अचम्मित छन् । किनकि ल्यान्डिङ कम्पार्टमेन्ट विमानको सबैभन्दा मुनि हुन्छ । यसमा सुरक्षा उपकरण, ब्रेक सिस्टम र हाइड्रोलिक पाइप हुन्छन् । एक अध्ययनअनुसार यो तरिकाले लुक्ने प्रयासमा जीवित रहने दर निकै कम हुन्छ । विश्वभरमा यसरी लुकेर यात्रा गर्नेमध्ये २० प्रतिशत मात्र जीवित बचेका छन् ।
अफगानिस्तानमा १५ अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कैयौं मानिस देश छोड्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा घुसपैठ गरेका थिए । अफगानी नागरिक कुनै पनि तरिकाले देश छाडेर बाहिर निस्कन खोज्दै थिए । अमेरिकाले आफ्ना नागरिक र सेनालाई फिर्ता बोलाउनका लागि सैनिक विमान पठाएको थियो । त्यसबेला सैयौं अफगान नागरिक अमेरिका जानका लागि अमेरिकन सैनिक विमानमा सवार भएका थिए । केही नागरिक जहाजमा झुन्डिएका समेत थिए । सोही क्रममा आकाशमा जहाजबाट खसेर कैयौंले ज्यान समेत गुमाए ।