प्रचण्ड लगतै आरजु पनि उडिन् दिल्ली
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्ला दिनहरूमा नेपाली राजनीतिक व्यक्तित्वहरूको आवत–जावतले चर्चा पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन् भने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन् ।
प्रवासी नेपालीहरूसँग संवाद र ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आइतबार दिल्ली पुगेका थिए । उनले आज दिउँसो कार्यक्रमलाई सम्बोधन गरेका छन् । भ्रमणका क्रममा प्रचण्डले आइतबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेका थिए । त्यसपछि सोमबार बिहान पनि भारतीय सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल भएको जनाइएको छ । तय कार्यक्रम अनुसार प्रचण्ड आज साँझ नेपाल फर्किने छन् ।
यहीबीच, कांग्रेस नेतृ डा. आरजु राणा देउवा सोमबार दिउँसो करिब सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेकी छन् । सुरक्षा स्रोतले उनको दिल्ली यात्रा पुष्टि गरेको छ । भ्रमणको औपचारिक उद्देश्य सार्वजनिक नगरिए पनि कांग्रेस स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि भारत गएकी हुन् । आरजुले यसअघि पनि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराउँदै आएको बताइएको छ । यद्यपि, उनको भ्रमणका क्रममा सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट हुन सक्ने अनुमान समेत गरिएको छ ।
दिल्ली यात्राको शृङ्खला यतिमै सीमित छैन । यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी उपचारका लागि दिल्ली गएका थिए । त्यसैगरी, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए, जहाँ उनले भारतीय सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए । लगातार भइरहेका यी भ्रमणहरूले नेपाल–भारत राजनीतिक संवाद, स्वास्थ्य उपचार र कूटनीतिक सम्पर्कहरू एकसाथ अघि बढिरहेको संकेत गरेका छन् ।
